बेसीशहर, पुस २२ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लमजुङबाट प्रत्यक्षतर्फ संस्थापक जिल्ला अध्यक्ष एवं केन्द्रीय संगठन विभागका सदस्य धर्म केसी उमेदवार बन्ने भएका छन् ।
रास्वपा लमजुङको आजको वैठकले केसीलाई आगामी प्रतिनिधि सभा निर्वाचनमा लमजुङबाट एकल उमेदवारको रुपमा सिफारिस गरेको हो । जिल्ला सभापति अशोक सापकोटाको अध्यक्षतामा रास्वपा जिल्ला कार्यालय बेसिशहरमा बसेको वैठकले यस्तो निर्णय गरी केन्द्रीय समितिमा सिफारिस गरेको हो ।
उक्त पार्टीका गण्डकी प्रदेश समितिका सदस्यहरुको उपस्थितिमा जिल्ला कार्य समिति, अधिवेशन सम्पन्न भएका तथा तदर्थ समिति रहेका पालिका तथा वडा समितिहरु र जिल्लामा गठन भएका बिभिन्न तहगत समितिहरुको संयुक्त बैठकले पार्टीका संस्थापक जिल्ला सभापति एवं केन्द्रिय संगठन बिभाग सदस्य इन्जिनियर.धर्म के.सीलार्ई सर्वसम्मत रूपमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको एकल उमेदवारका रूपमा सिफारिस गरिएको सभापति सापकोटाले जानकारी दिए ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि केसी लमजुङबाट रास्वपाको प्रत्यक्ष तर्फको उमेदवार थिए । पार्टी स्थापना भएको ४ महिना मात्र भएको र जिल्लामा कुनै संगठन नै नबनेका बेला केही ब्यक्तिहरुको साथ लिएर निर्वाचनमा होमिएका केसीले तेस्रो स्थानमा रहँदै ९ हजार ३३ मत पाएका थिए ।
यस पटक रास्वपाले जिल्लाका सबै पालिकामा संगठन निर्माण गरिसकेको छ । विभिन्न पार्टी परित्याग गरी रास्वपामा प्रवेश गर्नेहरु बढिरहेका छन् । वैकल्पिक राजनीतिको वकालत गर्दै सुशासन, विकास र समृद्धिको नारा लिएर आएको रास्वपाले केन्द्रमा वैकल्पिक राजनीति शुरुवात गर्ने विवेकशील साझा पार्टी, कूलमान घिसिङको उज्यालो नेपाल पार्टी, बालेन्द्र शाहका साथै थारुवान अभियान्ता र नागरिक उन्मुक्ति पार्टीको संस्थापक समूहलाई पार्टीमा समाहित गरी सशक्त बनेको छ ।
यस्तो अबस्थामा देशभर नै रास्वपाको लहर छाएको छ । रास्वपा बलियो भएको देखेर प्रमुख ठूला दलहरु गठबन्धनको तयारीमा जुटेका छन् ।
रास्वपा लमजुङका सभापति अशाेक सापकाेटाले अब हुने प्रतिनिधि सभा निर्वाचनमा लमजुङबाट रास्वपाले सानदार जीत निकाल्ने बताए । पुराना दलहरू जनमत गुमाएर गठबन्धन गर्न तयार भएका भन्दै उनले जति गठबन्धन गरे पनि जनताकाे नजरमा गिरेका दलहरू अब उठ्न नसक्ने र रास्वपाले लमजुङ सहित अधिकांश जिल्लामा जीत निकाल्दै सके दुइ तिहाइ, नसके कम्तीमा पनि बहुमतकाे सरकार बनाउने निश्चित भएकाे दावी गरे ।
मिलन शर्मा दनाई