लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टीले छान्याे निर्वाचन क्षेत्रीय समिति, चिलुवाल, थापा र शर्मा चयन

बेसीशहर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन क्षेत्रीय समितिको नेतृत्वका लागि गरेको अनलाइन भोटिङ अन्तर्गत लमजुङमा तीनजना विजयी भएका छन् । विजयी हुनेमा निराजन चिलुवाल, प्रकास थापा र भोला शर्मा रहेका छन् ।

मुलुकका ७४ वटा जिल्लामा संगठन निर्माण गरिसकेको रास्वपाले प्रतिनिधि सभाको १६५ क्षेत्रमै क्षेत्रीय समिति विस्तार गर्न लागे अनुसार लमजुङ जिल्लाका लागि पनि अनलाइन उमेदवारी आह्वान गरेकाे थियाे । दुइ जना महिलासहित ५ सदस्यीय समितिका लागि उमेदवारी मागिएकाेमा ५ जना पुरूषकाे उमेदवारी परेकाे थियाे । परेका उमेदवारहरूमध्येबाट अनलाईन भोटिङ मार्फत चिलुवाल, थापा र शर्मा चयन भएका हुन् ।

५ सदस्यीय समितिका लागि प्रदेश क बाट एक पुरुष र एक महिला तथा ख बाट एक पुरुष र एक महिला र एक खुला उमेदवार हुनुपर्नेमा महिलाहरुकाे उमेदवारी नपरेको बुझिएको छ । उमेदवारी नपरेपछि अब दुवै प्रदेश सभा क्षेत्रबाट १÷१ जना महिला मनोनित गरी समितिलाई पूर्णता दिइने छ । 

पार्टीको महाधिवेशन नहुन्जेलसम्मका लागि यो समितिले तदर्थरुपमा रही काम गर्ने छ । महाधिवेशनपछि नयाँ कार्यसमिति चयन हुने छ । सबै निर्वाचन क्षेत्रका उम्मेदवारी परेका ठाउँमा गत जेठ १६ गते बिहान ७ बजेदेखि जेठ २० गते साँझ ७ बजेसम्मका लागि मतदान गर्न सकिने समयसीमा तोकिएको थियो । मतदानका लागि निर्वाचन क्षेत्रका सदस्यले प्रत्यक्ष रुपमा मोबाइल एपमार्फत मत दिन पाउने ब्यवस्था मिलाइएको थियो । 

अहिले गठन हुन लागेको निर्वाचन क्षेत्रीय समिति प्रदेश इन्चार्जको मातहतमा रही काम गर्ने बताइएकाे छ । यो समितिले स्थानीय, प्रदेश र संघको निर्वाचनको योजना बनाउने, सम्भावित उमेदवारहरुको पहिचान गर्ने, उनीहरुलाई जिताउने योजना निर्माण गर्ने, निर्वाचनको प्रचार प्रसारको योजना बनाउन केन्द्रसंग समन्वय गर्ने जिल्ला उपसंयोजक अशोक सापकोटाले जानकारी दिए । 


प्रतिक्रिया