पसगाउँमा १५ औं महोत्सव शुरु: संस्कार, प्रकृति र संस्कृतिबाट गण्डकी प्रदेशमा उन्नति गर्न सकिने

खबरकुञ्ज

पसगाउँ फागुन १८ गते । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले संस्कार, प्रकृति र संस्कृतिबाट गण्डकी प्रदेशमा उन्नति गर्न सकिने बताएका छन् ।

लमजुङको पर्यटकीय गाउँ पसगाउँमा १५ औं महोत्सवको आइतबार उदघाटन गर्दै मन्त्री बस्यालले गाउँबाट युवाहरु पलायन हुने देशभरको समस्या रहेको भन्दै विदेश गएर कमाएर गाउँमै फर्की गाउँको उन्नति र विकासमा लाग्नु पर्नेमा जोड दिए ।


उनले पर्यटनलाई कृषि र यातायातसंग जोड्नुपर्ने बताउँदै गाउँमा आउने पाहुनालाई स्थानीय परिकार नै खुवाउन सकेमात्र दिगो रुपमा ग्रामीण पर्यटन फस्टाउने बताए ।


मन्त्री बस्यालले गण्डकी प्रदेशमा घरेलु रक्सीको ब्राण्डिङका लागि प्रदेश सरकारले विधेयक प्रदेश सभामा पेश गरिसकेकाले अब कानुन बनाएर घरेलु रक्सी उत्पादन गरी बिक्री गर्ने बाटो खुल्ने बताए । 


विदेशबाट महँगो मदिरा आयात गर्दा देशको ठूलो पूँजी बाहिरिएको भन्दै उनले कोदोको उत्पादनलाई ब्राण्डिङ गरि विदेशमा विक्री गर्न सके देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने उनले बताए ।

महोत्सवको उद्घाटन सत्रमा लमजुङको मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले दुवै पालिकाले पर्यटनको क्षेत्रमा मिलेर काम गर्न सकिने बताए ।

भोलिसम्म चल्ने महोत्सवमा स्थानीय हस्तकला, गुरुङ जातिको कला संस्कृति र भेषभूषा, स्थानीय खानालगायतको प्रदर्शन गरिनुका साथै माया गुरुङ, गजेन्द्र गुरुङ, टसबहादुर गुरुङ लगायतका कलाकारहरुले सांगितीक प्रस्तुति दिएका छन् । स्थानीय युवा क्लव, आमा समूहका नाच, कृष्ण चरित्र, घाँटु लगायत पौराणिक नृत्यहरुसमेत महोत्सवमा प्रदर्शन गरिएका छन् ।

ग्रामीण पर्यटनको विकास गरी ग्रामीण अर्थतन्त्रमा टेवा पु¥याउन पसगाउँमा होमस्टे विकास गरिएको र यसकै प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष एवं क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए । 


प्रतिक्रिया