एक बर्षमा नमूना अस्पतालले दियाे झण्डै ५० लाख बराबरकाे निःशुल्क सेवा

मिलन शर्मा दनाई

सुन्दरबजार, साउन २६ गते । लमजुङको सुन्दरबजारमा रहेर स्वास्थ्य क्षेत्रमा नमूना काम गरिरहेको नमूना सामुदायिक अस्पतालले एक बर्षको अवधिमा सर्वसाधारण बिरामीहरूलाइ झण्डै ५० लाख रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।

गत आर्थिक बर्षभर अस्पतालले ४ हजार २ सय ५१ जनालाई ४६ लाख ४५ हजार ६९२ जनालाई निःशुल्क उपचार गराएको हो । गत आर्थिक बर्षमा २ हजार ७१५ जना महिला र १ हजार ५३६ जना महिलाले निःशुल्क उपचार पाएका अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए ।

गत बर्ष अस्पतालमा १४ हजार ३९२ जनाले बहिरंग सेवा पाएका छन् भने अन्तरङ्ग सेवा पाउनेको संख्या ८३६ र आकस्मिक सेवा पाउनेको संख्या २ हजार ५३८ जना रहेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

एक बर्षको अवधिमा नमुना अस्पतालमा १ हजार १४३ जनाको शल्यक्रिया भएको श्रेष्ठले बताए । उनका अनुसार गत आर्थिक बर्षमा अस्पतालमा ७ हजार ४९० वटा ल्याब परीक्षण, ४ हजार १८ वटा एक्सरे, ७ सय ७ वटा ईसिजी, र १ हजार ९३१ जनाले भिडियो एक्सरे सेवा पाएका छन् ।

अस्पतालबाट २३ जनाले सुत्केरी सेवा पाएकामा ८ जनाको शल्यक्रिया गरिएको छ । सुत्केरीमध्ये ४ जना २० बर्ष मुनीका रहेका प्रमुख श्रेष्ठले जानकारी दिए । एक बर्षको अवधिका २ सय ९७ जनाको गर्भवती परीक्षण गरिएको छ भने ३ सय ६२ जनालाई मनोबिमर्श सेवा दिइएको छ ।

गत बर्ष अस्पतालले विभिन्न स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा बृहत शिविरबाट ३ हजार तीनसय जना लाभान्वित भएका छन् । यस अवधिमा अस्पतालले १४ वटा टेलिमेडिसिन सेवा, ३ हजार ३३९ जनालाई दन्त सेवा दिएकाे छ ।

पछिल्लो समय फिजियोथेरापी सेवा समेत सञ्चालन गरेको नमुना अस्पतालमा गत बर्ष४ सय ७३ जनाले यो सेवा पाएका छन् । सो अवधिमा सर्पदंशका १४ र बिष सेवन गरेका १२ विरामीको उपचारसमेत गरिएको अस्पताल प्रमुख श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया