बेसीशहर, पुस १९ । आकांक्षी धेरै भएपछि लमजुङबाट नेकपा एमालेबाट केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङको नाम एकल सिफारिस हुन सकेन ।
पार्टीको हालै सम्पन्न केन्द्रीय महाधिवेशनमा सर्वाधिक मत पाएर उपाध्यक्षमा विजयी बनेका पृथ्वी सुब्बा गुरुङ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जिल्लाबाट आफ्नो एकल सिफारिस होस् भन्ने चाहन्थे । तर महाधिवेशनमा केन्द्रीय सदस्य जितेका र जिल्लामा राम्रो छबि बनाएका अन्य नेताहरुले पनि आकांक्षा देखाएपछि उनको एकल नाम सिफारिस हुन सकेन ।
फलस्वरुप नेकपा एमाले जिल्ला कमिटी लमजुङको आजको वैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उपाध्यक्ष गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको हो ।
बेंसीसहरको मदन–आश्रित स्मृति भवनमा शनिबार बसेको जिल्ला कमिटीको दशौं बैठकले उपाध्यक्ष गुरुङसहित संविधानसभा सदस्य समेत रहेका केन्द्रीय सदस्य जमीन्द्रमान घले, केन्द्रीय सदस्य कृष्ण अधिकारी, केन्द्रीय सदस्य भगवती थापा, गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, र गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य लक्ष्मीदेबी अधिकारीको नाम समेत सिफारिस गरेको छ ।
समानुपातिक उमेदवारतर्फ तर्फ नेकपा एमाले लमजुङबाट सिफारिसमा परेका नेकपा एमालेका केन्द्रीय सदस्य टुकाभद्र हमाल र गण्डकी प्रदेश कमिटीका सदस्य प्रेम घलेको नाम निर्वाचन आयोग पुगिसकेको बताइन्छ ।
खबरकुञ्ज