लमजुङ सदरमुकाम बेसीशहरमा रहेको एकमात्र पब्लिक क्याम्पस मर्स्याङदी बहुमुखी क्याम्पसमा भएको भनिएको भ्रष्टाचारका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।
क्याम्पसमा २०६७ सालदेखि आर्थिक र नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले यससम्बन्धमा कारबाही अघि बढाएको हो ।
उजुरी पश्चात आयोगको पोखरास्थित कार्यालयले २०८० पुस ३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यविधि, २०७८ को दफा २६ (१) (क) अनुसार क्याम्पसलाई पत्र लेख्दै उजुरीका ब्यहोरा प्रत्येक बुँदामा स्पष्ट प्रतिक्रियासहित प्रमाणित कागजपत्र १५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको थियो ।
क्याम्पसका प्रमुख हरिबाबु थापा समेतले ०६७ साल देखी क्याम्पसका विद्यार्थीबाट शुल्क उठाई ४ करोड रुपैँया बराबरको अनियमितता गरेको भन्दै उजुरी परे पछि अख्तियारले क्याम्पसका नाममा पत्राचार गरी यस्तो निर्देशन दिएको हो ।

अख्तियारले २०६६ सालमा क्याम्पसमा स्नातकोत्तर तह सञ्चालनका लागि लगाइएको महायज्ञमा १ करोड २५ लाख रुपैयाँ संकलन भएकोमा लेखापरीक्षण गर्दा ५ लाख मात्र देखाइएको, क्याम्पसको मूलगेट सम्म सडक ढलान गर्नका लागि जग्गाधनीहरुबाट रकम उठाई फिर्ता नगरेको, प्राध्यापक कर्मचारी कोषको ब्याज आम्दानी रकम हिनामिना गरेको, विगत १३÷१४ बर्षदेखि आन्तरिक लेखापरीक्षण नगरेको, क्याम्पसको प्रशासकीय भवन निर्माणमा अनियमितता गरेको विषयमा क्याम्पससंग विवरण माग गरेको छ ।
यस्तै क्याम्पसमा परीक्षा लिँदा विद्यार्थीहरुबाट उठाइएको परीक्षा सञ्चालन शुल्क क्याम्पसका खातामा दाखिला नगरेको, क्याम्पस हाताभित्र लगाइएका फलफूल विक्रीको आम्दानी नदेखाएको, भ्रष्टाचार गर्नकै लागि दुईस्थानमा लेखा प्रणाली गरेको, २०६७ सालदेखि विद्यार्थीबाट शुल्क उठाई ४ करोड बराबरको अनियमितता गरेको र क्याम्पस प्रमुख थापाले १२ महिनाको तलब र १ महिनाको दशैं पेश्की लिनुपर्नेमा १५ महिनाको तलब भत्ता खाएको र कक्षा ११ र १२ बाट समेत नियम विपरित पारिश्रमिक लिएको उजुरीका विषयमा अख्तियारले जवाफ मागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले क्याम्पसमा पठाएको पत्रमा स्नातकोत्तर तह संचालनका लागि लगाइएको महायज्ञ मार्फत भएको आम्दानी विवरण र उक्त रकम खुल्ने लेखापरिक्षण प्रतिवेदन, आन्तरिक लेखा परिक्षण भए नभएको सम्बन्धमा स्पष्ट प्रतिक्रियासँगै प्रशासकीय भवन निर्माणको लागत अनुमान, नापी किताब तथा भुक्तानी कागजातको प्रमाण, क्याम्पस मूल गेट सम्म सडक निर्माणको आम्दानी खर्चको सत्यतथ्य प्रमाण, प्राध्यापक कर्मचारी कोषको रकम, ब्याज आम्दानी विवरण र बैंक स्टेटमेन्ट सहितको प्रमाण मागेको छ ।
पत्रमा अख्तियारले दुई स्थानमा लेखा प्रणाली सञ्चालन गर्नुकोे औचित्य, बढी महिनाको तलब लिनुको स्पष्ट कारण, परीक्षा शुल्क संकलन विवरण तथा आम्दानी बाँधेको प्रमाण, फलफूल विक्रीको आम्दानी विवरण र आम्दानी बाँधेको प्रमाण क्याम्पससंग माग गरेको छ ।
त्यस्तै क्याम्पसको विद्यार्थी संख्याको विवरण, शुल्क विवरण, शुल्कबापतको आम्दानीको दाखिला प्रमाण र आम्दानीको संक्षिप्त प्रतिवेदनसमेत अख्तियारले मागेको छ ।
मस्र्याङदी बहुमुखी क्याम्पस देशकै प्रतिष्ठित क्याम्पसमा पर्छ । त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषदको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्रमाण पत्र पाएको यो क्याम्पसमा भ्रष्टाचार जस्तो संगीन आरोप लाग्नुलाई लमजुङका शिक्षाप्रेमीले गम्भीर चिन्ता ब्यक्त गरेका छन् ।
उजुरीले २०६७ देखि हालसम्मको सञ्चालक समिति, क्याम्पस प्रशासन र लेखापाल र क्याम्पसको भवन निर्माण गर्ने ठेकेदारलाई समेत अनुसन्धानको दायरामा ल्याएको छ ।
मर्स्याङदी क्याम्पसमा २०६७ यता ५ वटा सञ्चालक समिति फेरिसकेका छन् भने क्याम्पस प्रमुखमा थापा बिगत ३० बर्षयता कार्यरत छन् । २०६७ मा उक्त क्याम्पसमा शंकरकान्त जोशी अध्यक्ष थिए । त्यसपछि क्रमशः कृष्ण कोइराला, भेषबहादुर पौडेल, हरिप्रसाद बराल र कृष्णबहादुर अधिकारीले क्याम्पस सञ्चालक समितिको नेतृत्व गरेका छन् । अधिकारी एक बर्ष अघि मात्र अध्यक्ष चयन भएका हुन् ।