महाशिवरात्री मेलाबाट इशानेश्वर महादेव मन्दिरलाइ ३५ लाख आम्दानी

मिलन शर्मा दनाई

बेसीशहर, चैत्र ७ गते । गएको महाशिरात्री पर्वका असरमा ईशानेश्वर महादेव मन्दिरमा ३५ लाख रुपैयाँ खुद आम्दानी भएको हिसाब सार्वजनिक गरिएको छ ।

ईशानेश्वर मन्दिर क्षेत्र विकास समितिले हालै मन्दिर परिसरमा महाशिवरात्री पर्वका अवसरमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो । जस अनुसार सो अवसरमा विभिन्न शिर्षकमा ३९ लाख ३६ हजार ७५९ रुपैयाँ आम्दानी र ४ लाख २६ हजार ९४७ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको हो ।

क्षेत्र विकास समितिका सचिव शंकरराज घिमिरेका अनुसार शिवरात्रीका दिन श्रद्धालु भक्तजनहरुले दिएको दान रसिदबाट २५ लाख ४९ हजार १५९, बजारबाट उठेको सहयोग चारलाख ५८ हजार, बसेर बत्ती बाल्नेहरुबाट दुईलाख ८८ हजार नौसय, उभिएर ठाडो बत्ती बाल्नेहरुबाट दुईलाख ६८ हजार पाँचसय र दान बाकसबाट तीनलाख ८३ हजार दुईसय रुपैयाँ संकलन भएको छ ।

त्यस्तै शिवरात्रीका अवसरमा मन्दिर परिसरमा आयोजना गरिएको सामूहिक ब्रतबन्ध कार्यक्रमबाट २२ हजार आठसय, धान्यपर्वबाट १३ हजार सातसय र विविधतर्फ ५० हजार समेत गरी ३९ लाख ३६ हजार सातसय ५९ रुपैयाँ आम्दानी भएको सो अवसरमा जानकारी दिइयो ।

खर्चतर्फ विविध सामान खरिदमा २७ हजार, साउण्ड सिस्टम र टेन्ट भाडामा २६ हजार, प्लाष्टिक प्लेटमा १० हजार, त्रिपाल खरिदमा १६ हजार, ठाडोबत्तीको पाइप, टेण्टमा ६१ हजार पाँचसय, स्टेशनरी खरिदमा ३१ हजार, बाँस खरिदमा नौहजार चासय, बत्तीबाल्ने टहरा निर्माणमा २३ आठसय, विद्युतका सामान र ज्यालामा १८ हजार, दानपेटिका निर्माणमा २१ हजार,, मन्दिर रंगरोगनमा ४६ हजार पाँचसय, मूलपण्डित, पण्डित, भण्डारा महात्मा भेटी, मण्डप टीकाटालासमेतमा ३५ हजार, सरसफाइमा २५ हजार, सुरक्षाकर्मीको खाना र पानीमा एकलाख १४ हजार आठसय ४०,कर्मचारी खर्च १५ हजार, बाजा खर्च पाँचहजार, डोजर खर्च चारहजार दुईसय, धुनी रुखकटानमा एकहजार पाँचसय र अन्य विविध खर्चमा चारहजार तीनसय ८० रुपैयाँ रहेको सचिव शंकरराज घिमिरेले जानकारी दिए ।

त्यसैगरि महाशिवरात्रीका अवसरमा मध्यनेपाल ९ भदौरे निवासी रामप्रसाद रानाभाटले ६१ हजार मूल्यको टेण्ट, वडा नं. ५ को कार्यालयबाट एकलाख मूल्यका ३ थान टेण्ट, देउराली सामुदायिक वन उपभोक्ता समिति, मध्यनेपाल ७ निवासी सरोज पौडेल, सुमन श्रेष्ठ, मध्यनेपाल ६ का राजु र राजेन्द्र पौडेल, लक्ष्मण कुँवरबाट ३०/३० हजार मूल्यका एक/ एकथान टेण्ट/त्रिपाल उपलब्ध भएको समेत सो अवसरमा जानकारी गराइयो ।

सचिव घिमिरेले महाशिवरात्रीका अवसरमा संकलित भेटी, दान र प्राप्त अन्य आम्दानी ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिको बैंक खातामा जम्मा गर्ने र सोही रकमबाट मन्दिर वरिपरीको जग्गा खरिद गर्ने कार्यमा खर्च गरिने छ ।

उनका अनुसार हरेक बर्ष महाशिवरात्रीका अवसरमा संकलन हुने दान, दक्षिणा र भेटीबाट मन्दिर वरिपरिको जग्गा खरिद, मन्दिर ब्यवस्थापन, रंगरोगन र अन्य बन्दोबस्तीका लागि  खर्च गर्ने गरिएको छ ।

प्रतिक्रिया