करापुटार, फागुन २५ गते । आज फाल्गुण कृष्ण चतुर्दशी अर्थात महाशिवरात्री । आजकै दिन देवादिदेव महादेवको उत्पति भएको मानिन्छ ।
महाशिवरात्री हिन्दु धर्मावलम्बीहरुको महान चाड हो । हिन्दू परम्परामा कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामका चार प्रमुख रात्रीलाई महत्वपूर्ण मानिन्छ । यी मध्ये फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्री पर्व बिशेष मानिन्छ । यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष (छिटै खुसी हुने) भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।
व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरि व्रत बस्ने र भगवान् शिवका प्रिय बस्तुहरू बेलपत्र, दूध र धतुरो चढाउने गर्छन् ।
महाशिवरात्रीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरहरूमा भक्तजनको ठूलो भीड लागेको छ ।
दोस्रो पशुपतिनाथ भनेर चिनिने लमजुङको मध्यनेपाल नगरपालिका– ७ करापुटारमा रहेको ईशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । ईशानेश्वर महादेव मन्दिर काठमाडौंको पशुपतिनाथ पछिको धेरै भक्तजनहरुको घुइँचो लाग्ने पवित्र तिर्थस्थल हो । यस मन्दिरमा आज बिहानैदेखि भक्तजनहैका ठूलो भीड छ ।

ईशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवको रूपमा पनि पुज्ने चलन छ । ईशानेश्वर महादेवको दर्शन गरी पूजा अर्चना गरेमा सन्तान प्राप्त हुने विश्वास गरिन्छ । यस मन्दिरमा भक्तिपूर्वक ठाडोबत्ती बाल्दा निःसन्तानलाइ सन्तान हुने र छोराको कामना गर्नेले छोरै पाउने विश्वास गरिन्छ ।

प्रत्येक वर्ष महाशिवरात्रि पर्वका अवसरमा यस मन्दिरमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गर्छन् । शिवरात्रिमा ठाडो बत्ती बाले सन्तान प्राप्ति हुने विश्वासका साथ सयौं भक्तजनहरू त्यहाँ आउने गर्छन् र सञ्चा मनले भगवान आशुतोषको पूजा आरती गरेमा मनोकामना पूरा हुने विश्वास रहेको ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताए ।
ईशानेश्वर महादेव मन्दिरमा लमजुङसहित काठमाडौं, पोखरा, गोरखा, चितवन, तनहुँ, पर्वत, स्याङ्जा, बाग्लुङ, पर्बत, विभिन्न जिल्ला र भारतबाट समेत हजारौँको संख्यामा भक्तजन पुग्छन् ।

शिवरात्री मेलालाई ब्यवस्थित गर्न मन्दिर क्षेत्र विकास समितिले सक्दो कोशिस गरिरहेको छ । मन्दिर परिसरमा शिबमहापुराण, सामुहिक ब्रतबन्ध लगायत अनुष्ठानहरू पनि भइरहेका छन् । मन्दिरवरपर मदिरा र मासुजन्य परिकार बेचबिखनमा पूर्ण रूपले रोक लगाइएको छ । महोत्सबको सुरक्षाका लागि दुइसय बढी सुरक्षाकर्मी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय भोर्लेटारले जनाएको छ ।
खबरकुञ्ज