बेसीशहर, फागुन १९ । लमजुङको उत्तर पश्चिममा रहेको रमणीय पसगाउँमा १४ औं पसगाउँ महोत्सव शनिबारबाट शुरू भएकाे छ ।
महोत्सवको माध्यमबाट गाउँको कला, संस्कृति, भेषभुष, स्थानीय हस्तकलाको प्रदर्शन गरी पसगाउँलाई देश विदेशमा चिनाउन महोत्सव गरिएकाे हो । गुरुङ संस्कृति, भेषभूषा र भाषाको संरक्षण र संबर्द्धन गरी स्थानीयको आर्थिक एवं सामाजिक स्तर उकास्नका लागि महोत्सव सहायक सिद्ध हुने अपेक्षा गरिएको छ ।
महोत्सवको गण्डकी प्रदेश सरकारको संस्थापक मुख्यमन्त्री, प्रतिनिधि सभा सदस्य एबं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले उद्घाटन गरेका छन् । महाेत्सव उद्घाटन गर्दै गुरूङले पसगाउँमा पर्यटन विकासका थुप्रै सम्भावना रहेका भन्दै गाउँकाे विकासका लागि गाउँबासी तत्पर हुनुपर्ने र स्थानीय प्रदेश र संघीय सरकारले पनि पर्यटकीय सम्भावना रहेका गाउँहरूकाे पर्यटन प्रबर्द्धनका लागि लगानी गर्नु पर्नेमा जाेड दिए ।
गण्डकी प्रदेशकाे पहिलाे मुख्यमन्त्री रहेका गुरूङले आफू मुख्यमन्त्री हुँदा प्रदेशका हाेमस्टेहरूकाे प्रबर्द्धनका लागि विभिन्न कार्यक्रम ल्याएकाे स्मरण गराउँदै पर्यटनकाे माध्यमले प्रदेशलाइ धनी बनाउन र जनतालाइ सुखी बनाउन सकिने दावी गरे ।

पसगाउँ सामुदायिक हाेमस्टेका अध्यक्ष एवं क्व्हाेंलासाेंथार गाउँपालिकाका अध्यक्ष सुर्य गुरूङकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा संविधान सभाका सदस्य जमीन्द्रमान घले, दाेर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीलगायतले महाेत्सव सफलताकाे शुभकामना ब्यक्त गरेका थिए ।
महोत्सवमा लोकप्रिय गुरुङ तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहेकाे छ । लोकप्रिय कलाकार गोरे गुरुङका साथमा सविना गुरुङ, टस बहादुर गुरुङ, गजेन्द्र गुरुङ, संगिता गुरुङ, राज बहादुर गुरुङ, प्रिया गुरुङलगायतका कलाकार पसगाउँ पुगेका छन् ।
महोत्सवमा स्थानीय सांस्कृति झल्कने आमा समूहको नाच, कृष्ण चरित्र नाच, घाँटु नाँच, सारङ्गी नाँच लगायत परम्परागत नाचहरु समेत देखाइने छ।
समुद्री सतहबाट १६५० मिटरको उचाइमा रहेको पसगाउँ लमजुङको क्व्होलासोंथार गाउँपालिकाको वडा नंं ६ मा पर्छ । प्राकृतिक रुपले सुन्दर यो गाउँ गुरुङहरुको बाहुल्यता रहेको गाउँ हो । गुरुङ जातिको कला संस्कृति, भाषा, संस्कार र परम्पराका कारण यो गाउँको छुट्टै महत्व छ ।
पसगाउँमा १ सय ४५ घरधुरी छन् । गाँउमा ११ घरधुरी भुजेल र १२ घरधुरी दलितका छन् । यीमध्ये २१ घरमा होमस्टेको ब्यवस्था मिलाइएको छ । प्रकृति, भाषा, संस्कृति, परम्परागत हस्तकलासंगै आकर्षक ढुङ्गाले छाइएका लस्करै घर पसगाउँका आकर्षण हुन् ।
गुरुङ सम्पदा मार्गमा पर्छ पसगाउँ । गण्डकी प्रदेशका मुख्य गुरुङ वस्तीलाई छुने गरि बनाइएको यो सम्पदा मार्गमा पर्ने यो गाउँमा पुग्न पहिले जस्तो अहिले समस्या छैन । लमजुङ सदरमुकाम वेशीहरदेखि मालिङ, घाम्राङ, साल्मेभन्ज्याङ हुदै पसगाउँ पुग्न सकिन्छ । घलेगाँउ भुजुङ हुदै पनि पसगाँउ पुग्न सकिन्छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि सिधै रामबजार गिलुङ घाम्राङ हुदै पनि पसगाउँ पुगिन्छ । कास्कीको थुम्सीकोट बालुवा, वगैचा हुदै र तनहूँको दमौली भोर्लेटार गिलुङ हुँदै समेत पसगाँउ पुग्न सकिन्छ ।
कला संस्कृतिमा धनी यस गाउँमा कृष्ण चरित्र नृत्य, झयाउरे र सारङ्गी नृत्य, घाँटु जस्ता लोपोन्मुख नृत्यहरु अझै पनि जीवन्त छन् । परम्परागत गुरुङ संस्कृतिको अध्ययनका लागि पसगाउँ राम्रो गन्तब्य मानिन्छ ।