बेसीशहर, असार २६ । जिल्ला प्रशासन कार्यालय लमजुङले डुम्रे–बेसीशहर–चामे सडक खण्ड अन्तर्गत बेसीशहरदेखि मनाङको सिमानासम्मको सडक खण्डमा रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन रोक लगाएको छ ।
कार्यालयले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर राख्दै यही असार २५ गतेदेखि यस्तो रोक लगाएको हो । जिल्ला सुरक्षा समिति लमजुङको असार २४ गतेको बैठकले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ५ गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधन नचलाउने निर्णय गरेको हो । सोही निर्णय अनुसार कार्यालयले असार २५ देखि साउन मसान्तसम्मका लागि बुधवार सूचना जारी गर्दै बेसीशहरदेखि म्यार्दी खोला सम्मको लमजुङ खण्डमा सवारी आवागमनमा रोक लगाएको हो ।
मननुसन जन्य विपद्को सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मनाङले पनि रातको समय यातायात सञ्चालनमा रोक लगाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार डुम्रे बेसीशहर चामे सडक अन्तर्गत बेसीशहरदेखि चामेसम्मको सडकमा दर्जनौं स्थानमा बाढी र पहिरोको जोखिम हुने भएकाले जोखिमको न्युनिकरणका लागि रातको समय सवारी साधन सञ्चालनमा रोक लगाएको बताए ।
जिल्ला सुरक्षा समिति मनाङ र जिल्ला सुरक्षा समिति लमजुङ बीच भएको अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठकको निर्णय अनुसार असार २० गते देखि लागू हुने गरी रातीको समय सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भए अनुसार मनाङ प्रशासनले एक सूचना जारी गर्दै बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
खबरकुञ्ज