बेसीशहर, पुस ७ गते । लमजुङको सुन्दरबजार नगरपालिका ५ गहतेमा मौरी उद्यमीहरुका लागि आयोजित मौरीघार निर्माण सम्बन्धी क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ लमजुङ(मनाङ)को आयोजनामा लमजुङका विभिन्न पालिकाका मौरी उद्यमीहरुको क्षमता अभिबृद्धि गरी जिल्लाभर निर्माण हुने मौरीघारमा एकरुपता ल्याउने उद्देश्यले मौरीघार निर्माण तालिम दिइएको हो । गत मंसिर १९ गतेदेखि गहतेको सुजिता मौरीपालन तथा मौरीघार उद्योग, मौरीपालन श्रोत केन्द्रमा सञ्चालन भएको तालिममा उद्योगका सञ्चालक मीन बहादुर गुरूङले प्रशिक्षार्थीहरूलाइ मापदण्ड बमोजिमको मौरीघार निर्माण सम्बन्धी प्रशिक्षण दिएका थिए ।
तालिममा बेसीशहर नगरपालिकाका २, सुन्दरबजारका १, राइनासका ४ जना, मध्यनेपालका ४ जना क्होलसोंथारका २ जना र दूधपोखरीका ३ जना गरी १६ जना मौरी उद्यमीहरुको सहभागिता थियो । तालिमको जिल्ला समन्वय समितिका प्रमुख पूर्ण बहादुर गुरुङको प्रमुख अतिथ्यमा शुक्रबार एक समारोहबीच समापन गरिएको छ ।
सो अवसरमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथि गुरुङले सिकेको सीपलाई ब्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । उनले लमजुङमा मौरीपालनको ठूलो सम्भावना रहेको र यसबाट मनग्गे आम्दानी समेत गर्न सकिने भएकाले सिकेको सीपलाई सदुपयोग गर्दै सफल मौरी उद्यमी बन्न प्रशिक्षार्थीहरुलाई शुभकामना दिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ लमजुङ(मनाङ)का प्रमुख पद्मनाथ आत्रेयले लमजुङ जिल्लामा बन्ने मौरीघारहरु मापदण्ड बमोजिम निर्माण गराउन र सबै घार उद्योगहरुको उत्पादनमा एकरुपता ल्याउन मौरी उद्यमीहरुलाई घार बनाउने तालिम दिइएको जानकारी दिए । उनले यस प्रकारको तालिम लिन विगतमा काठमाडौं पुग्नु पर्ने भए पनि स्थानीय उद्यमीहरुको हितलाई ध्यानमा राखी जिल्लाभित्रै तालिम सञ्चालन गरिएको र तालिम लिएका प्रशिक्षार्थीले भविष्यमा श्रोत ब्यक्तिको रुपमा काम गर्न सक्ने र आफ्नो उद्योगलाई श्रोत केन्द्रको रुपमा विकास गर्न सक्ने जानकारी दिए ।
समापन कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देल, डिभिजन वन कार्यालय लमजुङका वन अधिकृत सन्तोष खनाल, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ लमजुङ (मनाङ) का नायव प्राविधिक सहायक नवीन श्रेष्ठलगायतको उपस्थिति थियो ।
खबरकुञ्ज