नेकपा माओवादी केन्द्रकाे केन्द्रीय कमिटी वैठक पनि प्रत्यक्ष प्रसारण गरिने

काठमाडाैं । नेपाली कांग्रेसकाे  सिकाे गर्दै नेकपा माओवादी केन्द्रले पनि अबकाे केन्द्रीय समितिकाे वैठककाे प्रत्यक्ष प्रसारण गर्ने भएकाे छ ।

यही साउन १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय माओवादी केन्द्रले गरेको हाे । केन्द्रीय समितिकाे वैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको उक्त पार्टीको पदाधिकारी बैठकले बैठककाे सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको पार्टी महासचिव देवप्रसाद गुरूङले जानकारी दिए ।

प्रत्यक्ष प्रसारण गर्दा पत्रकारहरूलाइ समाचार संकलन गर्न र आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि पार्टीकाे बैठकबारे जानकारी पाउन सहज हुने भएकाले प्रत्यक्ष प्रसारण गर्न लागिएकाे महासचिव गुरूङले बताए ।

उनका अनुसार पार्टीको आधिकारिक फेसबुक पेजबाट वैठककाे प्रत्यक्ष प्रसारणा गरिनेछ । कतिपय अवस्थामा बैठकमा एउटा बिषयमा छलफल चल्ने र  बाहिर अर्कै प्रचार हुने अवस्थासमेत बन्ने भएकाले केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्न लागिएकाे उनले प्रष्ट पारे ।

बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदन तयार पार्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड'लाई जिम्मा दिइएको बताइएकाे छ । अध्यक्ष प्रचण्डले तयार पारेको प्रतिवेदनलाई १७ गते बिहान बस्ने स्थायी कमिटी बैठकले पारित गरी छलफलका लागि केन्द्रीय कमिटीमा लगिने छ।

प्रतिक्रिया