लमजुङ क्याम्पसमा नेबिसंघ, अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारी बिघटन, बाेर्ड पनि फालियाे

खबरकुञ्ज

बेसीशहर, भदौ २४ । सोमबारबाट शुरु भएको जेनजी आन्दोलन उत्कर्षमा पुगिरहेका बेला लमजुङको सुन्दरबजारमा रहेको लमजुङ क्याम्पसमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारी बिघटन गरिएको छ ।

जेनजीको आन्दोलनमा सोमबार भएको बर्बर दमन र सोही दमनमा परी १९ जना युवाहरुले ज्यान गुमाएपछि लमजुङ क्याम्पसमा रहेका तीन विद्यार्थी संगठनका प्रमुखहरुले जेनजी आन्दोलनको समर्थन गर्दै आफ्ना संगठन बिघटन गरेको घोषणा गरेका हुन् ।

यस अघि क्याम्पसमा बर्चस्व राख्नका लागि यी तीन संगठनबीच राजनीतिक प्रतिस्पर्धाका साथै बेलाबखत झडपको अवस्था निम्तने गरेकोमा जेनजी आन्दोलनले तीनवटै विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीहरुलाई नजिक मात्र ल्याएको छैन, उनीहरुलाई आफ्नो संगठन नै बिघटन गर्न प्रेरित गरिदिएको छ ।

मंगलबार सुन्दरबजारस्थित क्याम्पस हातामा एक समारोहका बीच तीनवटै विद्यार्थी संगठनका प्रमुखहरुले क्याम्पसमा रहेको आ–आफ्नो संगठन विघटन गरेको घोषणा गर्दै क्याम्पसमा राखिएको संगठनको बोर्ड समेत झिकेका छन् ।


नेविसंघ क्याम्पस इकाइका सभापति सौरभ उप्रेती, अनेरास्ववियू क्याम्पस इकाइका अध्यक्ष निश्चल घिमिरे र अनेरास्ववियू क्रान्तिकारीका इकाइ अध्यक्ष विवेक भट्टले संयुक्त रुपमा संगठन विघटन गरेको जानकारी क्याम्पस प्रमुख डा रामकुमार श्रेष्ठलाई गराएका थिए ।

नेविसंघ इकाइ सभापति उप्रेतीले जेनजी पुस्ताका युवा विद्यार्थीमाथि सोमबार भएको अमानवीय, निर्दयी, हिंस्रक र राक्षसी प्रबृत्तिको पराकाष्टाको नैतिक जिम्मेवार नेपाली कांग्रेस रहेको आफ्नो पनि नैतिक जिम्मेवारी रहेकाले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै क्याम्पस इकाइ विघटन भएको जानकारी गराएका छन् । 

अनेरास्ववियूका अध्यक्ष घिमिरेले सरकारको गैरजिम्मेवार ब्यवहार, दमनकारी प्रबृत्तिको बिरोध र भ्रष्टाचारमुक्त भविष्यको माग गर्ने नेपाली युवाहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदे अनेरास्ववियू क्याम्पस इकाइ कमिटी बिघटन गरिएको जनाएका छन् । 

प्रतिक्रिया