बेसीशहर, माघ १२ गते । लमजुङमा आँखाका विरामीको संख्या अत्याधिक रहेको पुनः पुष्टि भएको छ । लमजुङको मर्स्याङदी गाउँपालिकामा आयोजित आँखा शिविरमा आँखाको रोगको सिकायत लिएर आउने सयौं सर्वसाधारण र शिविरमा भेटिएका शल्यक्रिया गर्नुपर्ने अवस्थाका विरामीको संख्याले यसलाई पुनः पुष्टि गरेको हो ।
गत मंगलबारदेखि बिहीबारसम्म मर्स्याङदी गाउँपालिकाको वडा नंं ७ ङादीको भुलभुले स्वास्थ्य चौकीमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा झण्डै एक हजार जना स्थानीयले सेवा लिए । तीन दिनसम्म सञ्चालन भएको शिविरमा एकसय तीन जना विरामीको मोतियाविन्दूको शल्यक्रिया गरियो ।
लमजुङका विभिन्न भागमा विभिन्न समयमा आयोजना हुने आँखा शिविरमा आँखाका रोगीहरुको यस्तै भीड लाग्ने र धेरै विरामीको मोतियाविन्दूको शल्यक्रिया गर्नुपर्ने अवस्था देखिनुले आँखाका विरामीको संख्या अझै धेरै हुने सक्ने अनुमान गर्न सकिन्छ ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंको प्राविधिक सहयोग, मुटु फाउन्डेशन काठमाडौँ र मनोज एशोसियसन फ्रान्सको आर्थिक सहयोग तथा मर्स्याङदी गाउँपालिकाको आयोजनामा भएको शिविरमा उत्तरी लमजुङका विभिन्न भागबाट आँखाका विरामीहरु उपचारका लागि आइपुगेका थिए । अधिकांश जेष्ठ नागिरिकमा मोतिविन्दुको समस्या देखिएको पाइएको थियो ।
शिविरमा आँखाको परीक्षणका लागि आएका विरामीमध्ये २ सय ३७ जनालाई चस्मा वितरण गरिएको छ । शिविरमा नेत्र रोग विशेषज्ञ डा.प्रणव श्रेष्ठ सहित ८ जना स्वास्थ्यकर्मीले आँखाको परीक्षण गरेका थिए । शिविर व्यवस्थापनका लागि मस्र्याङदी गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखा र भुलभुले स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा कर्मचारी खटिएका थिए ।
शिविरको समापनका अवसरमा मर्स्याङदी गाउँपालिकाले शिविरमा आँखा जाँच र शल्यक्रियामा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । गाउँपलिका अध्यक्ष अर्जुन गुरुङले आर्थिक सहयोग तथा प्राविधिक सहयोग गर्ने संस्था र स्वास्थ्यकर्मीलाई कदरपत्रले सम्मान गरेका थिए ।
मिलन शर्मा दनाई