पार्टीका उमेदवारलाई जिताउन रास्वपाद्वारा बेसीशहरमा निर्वाचन परिचालन समिति गठन

खबरकुञ्ज

बेसीशहर, माघ २४ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीका उमेदवारलाई जिताउन र निर्वाचनको प्रचार प्रसारलाई ब्यवस्थित बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बेसीशहरमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

बिहीबार बेसीशहरमा भएको भेलाले बेसीशहरका जुझारु युवा राजकुमार घिमिरेको संयोजकत्वमा ३५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाबाट धर्मराज केसी उमेदवार छन् । उनलाई जिताउनका लागि नगर क्षेत्रमा ब्यापक प्रचारप्रसारमा रास्वपा जुटेको छ । प्रचार प्रसारलाई ब्यवस्थित रुपमा सञ्चालन गर्न बेसीशहरको वडा नंं ७ मा सचिवालय स्थापना गरी निर्वाचन परिचालन समिति गठन गरिएको हो ।

रास्वपाले जिल्ला भर नै चुनाव प्रचार प्रसारलाई तीब्रता दिएको छ । रास्वपाका उमेदवार केसी सहित जिल्ला सभापति अशोक सापकोटा, उपसभापति प्रकास थापा लगायत दर्जनौं कार्यकर्ताहरु पूर्वी तथा दक्षिण पश्चिम लमजुङमा घर दैलोमा छन् । यस क्रममा दूधपोखरी, राइनास, दोर्दी, मध्यनेपाल लगायतका पालिकाहरुमा घरदैलो सम्पन्न भई काठमाडौंमा रहेका लमजुङेहरुसंगको भेटघाटका लागि उमेदवार केसी काठमाडौं  पुगेका छन्  ।

निर्वाचन परिचालन समितिका संयोजक राजकुमार घिमिरेले पार्टीका उम्मेदवार केसीलाई विजयी गराउन सचिवालय र निर्वाचन परिचालन समिति गठन गरिएको र समितिमा बेसीशहरमा रहेका रास्वपाका सबै कार्यकर्तालाई समाहित गरिने जानकारी दिए । 

संयोजक घिमिरेले चुनावी प्रचारप्रसार र सांगठनिक कामलाई चुस्त बनाउन रास्वपाले बेसीसहर नगरपालिका–७ मा निर्वाचन सम्पर्क कार्यालय पनि खोलेको छ । बिहीबार आयोजित भेलामा विभिन्न पार्टीका सुभच्छुक, समर्थकहरुले समेत सम्पर्क कार्यालयमा आई रास्वपाको  निर्वाचन चिन्ह घण्टी बजाएको उनले बताए ।

रास्वपामा आवद्धबाहेक यस अघि अन्य पार्टीमा आवद्ध रहेका ज्येष्ठ नागरिकहरुले समेत घण्टी बजाएर रास्वपालाई जिताउनै पर्ने भन्दै घण्टी बजाएपछि बेसीशहरमा रास्वपाको माहोल अरु बढेको पार्टीका बेसीशहर नगर सचिव विष्णु घिमिरेले बताए ।

रास्वपा बेसीशहर नगर समितिका सभापति कृष्ण राउतले बेसीशहर लगायत जिल्लाका ग्रामीण भेगहरुमा समेत रास्वपाको पक्षमा जनलहर बढेको र ठूलो मतान्तरले रास्वपा उमेदवार धर्म केसी विजयी हुने दावी गरे । निर्वाचन प्रचार प्रसारका क्रममा गाउँ गाउँ जाँदा मतदाताहरुले नै घण्टी बजाएर स्वागत गर्ने गरेको भन्दै उनले यसबाट आफूहरुमा उत्साह भरिएको उनले बताए ।

रास्वपाले लमजुङमा युवा र विज्ञ उमेदवार उठाएको छ । रास्वपा उमेदवार केसी वातावरण इन्जिनियरिङमा स्नातकोत्तर गरेका र उर्जा, जलबायु परिवर्तन र दीगो विकास बिषयमा विज्ञता हासिल गरेका ब्यक्ति हुन् । उनको सशक्त उमेदवारीले प्रतिस्पर्धी अन्य राजनीतिक दलहरुलाई दबाबमा पारेको छ  ।


प्रतिक्रिया