लमजुङ, असोज २ । आजदेखि सोह्र श्राद्ध अर्थात पितृपक्ष शुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सोह्र श्राद्ध शुरु हुन्छ ।
आजकै दिन अर्थात आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृहरुलाई तर्पण, पिण्डदान र सिदादान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने मान्यता छ ।
आफ्ना दिवंगत भएका पितृहरुलाई देवताको रुपमा मानेर उनीहरुलाई सन्तुष्ट पारेर आशीर्वाद लिनको लागि श्राद्ध गर्ने चलन हिन्दू धर्ममा वैदिक कालबाट नै चल्दै आएको हो । मानिस देवऋण, मातृपितृ ऋण, ऋषिऋणबाट मुक्त हुन पितृ पूजा गर्नैपर्ने मान्यता छ । पितृ खुशी नभएसम्म देवता खुशी हुँदैनन् । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।
पितृहरुको सेवालाई वैदिक र धार्मिक शास्त्रले अति महत्वपूर्ण ठहर गरेको छ । प्रत्येक सन्तानले आफ्ना जीवित पितामाता या मृत भएका बुबाआमालाई देवताको रुप मानेर आस्था र निष्ठा राख्नु पर्दछ र सेवा र पूजा गर्नु पर्दछ भन्ने मान्यता हिन्दू धर्ममा छ । मृत बाबुआमाको श्राद्ध गर्ने गरिन्छ । श्राद्ध भनेको श्रद्धा हो ।
चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म श्राद्ध गर्नुपर्ने विधान छ ।
खबरकुञ्ज