बेसीशहर, फागुन २० । लमजुङको पर्यटकीय गाउँ सुन्दर पसगाउँमा १५ औं पसगाउँ महोत्सव सम्पन्न भएको छ । फागुन १८ र १९ गते सञ्चालन भएको महोत्सवको गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले उदघाटन गरेका थिए ।
महोत्सवमा स्थानीय हस्तकला, गुरुङ जातिको कला संस्कृति र भेषभूषा, स्थानीय खानालगायतको प्रदर्शन गरिएको थियो । महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकूलपति गोरे गुरुङ, प्राज्ञ गजेन्द्र गुरुङ, राजु गुरुङ, वरीष्ठ लोक गायिका माया गुरुङ, टसबहादुर गुरुङ, प्रिया गुरुङ, संगीता गुरुङ लगायतका कलाकारहरुले सांगितीक प्रस्तुति दिएका थिए । साथै स्थानीय युवा क्लव, आमा समूहका नाच, कृष्ण चरित्र, घाँटु लगायत पौराणिक नृत्यहरुसमेत महोत्सवमा प्रदर्शन गरिए ।
ग्रामीण पर्यटनको विकास गरी ग्रामीण अर्थतन्त्रमा टेवा पु¥याउन पसगाउँमा होमस्टे विकास गरिएको र यसकै प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष एवं क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले जानकारी दिए ।
महोत्सवमा स्थानीय गुरुङ समुदायमा प्रचलित विभिन्न खानाको महोत्सवका साथमा कोम्रो डाँडा पिकनिक स्पटबाट प्राकृतिक दृश्यावलोकन गराइएको थियो । चलचित्र छायाङकनका लागि समेत उपयुक्त कोम्रो डाँडाबाट, अन्नपूर्ण, माछापुच्छ्रे, मनासुलु, लमजुङ हिमाल, हिमालचुली, बौद्धलगायतका दर्जनौं हिमश्रृंखला अबलोकन गर्न सकिनुका साथै सुर्योदय र सुर्यास्तको मनोरम दृष्यावलोकन गर्न सकिन्छ ।
पसगाउँ गुरुङ बहुल्य रहेको रमणीय गाउँ हो । क्व्होलासोंथर गाउँपालिकाको वडा नंं ६ मा पर्ने यो गाउँ गुरुङ सम्पदा मार्ग र रोयल गोरखा ट्रेकको केन्द्र पनि हो । यस गाउँमा पर्यटक बस्नका लागि २१ घरमा होमस्टे संचालन गरिएकोे छ ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री बस्यालले गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले संस्कार, प्रकृति र संस्कृतिबाटै गण्डकी प्रदेशको उन्नति गर्न सकिने धारणा राखे । गाउँबाट युवाहरु पलायन हुने देशभरको समस्या रहेको भन्दै मन्त्री बस्यालले विदेश गएर कमाएर गाउँमै फर्की गाउँको उन्नति र विकासमा लाग्नु पर्नेमा जोड दिए । उनले पर्यटनलाई कृषि र यातायातसंग जोड्नुपर्ने बताउँदै गाउँमा आउने पाहुनालाई स्थानीय परिकार नै खुवाउन सकेमात्र दिगो रुपमा ग्रामीण पर्यटन फस्टाउने बताए ।

मन्त्री बस्यालले गण्डकी प्रदेशमा घरेलु रक्सीको ब्राण्डिङका लागि प्रदेश सरकारले विधेयक प्रदेश सभामा पेश गरिसकेकाले अब कानुन बनाएर घरेलु रक्सी उत्पादन गरी बिक्री गर्ने बाटो खुल्ने बताए । विदेशबाट महँगो मदिरा आयात गर्दा देशको ठूलो पूँजी बाहिरिएको भन्दै उनले कोदोको उत्पादनलाई ब्राण्डिङ गरि विदेशमा विक्री गर्न सके देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने बताए । मन्त्री गुरुङले गाउँको रैथाने उत्पादनलाई लेबलिङ र ब्राण्डिङ गरेर विश्वभर निर्यात गर्दै स्वरोजगार आयआर्जन बढाउन सकिने पनि बताए ।
लमजुङको मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाले पर्यटनको क्षेत्रमा मिलेर काम गर्न सकिने भन्दै पर्यटन र कृषिको विकासबाट नै पालिकाको विकास र सम्वृद्धि सम्भव हुने धारणा राखे ।
क्व्होँलासोथर गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरुङले स्थानीय कला, भाषा संस्कृति र प्रकृति देखाएर नै ग्रामीण पर्यटनको विकास गर्न सकिने र यसबाट स्थानीयको आय आर्जन बढाउन सकिने बताइन् ।
कार्यक्रममा क्व्होँलासोथर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले, पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रतिनिधि बृज गुरुङ, क्व्होलसोंथार गाउँपालिका ७ का अध्यक्ष लक्ष्मण गुरुङलगायतले पर्यटनको विकासका बारेमा मन्तब्य राखेका थिए ।
https://www.facebook.com/khabarkunjanewsdotcom/videos/1019156810075241/
मिलन शर्मा दनाई