बेसीशहर, बैशाख १४ गते । लमजुङको पाउँदीबजारमा बिहीबार भएको चोरीमा एक जना युवक पक्राउ परेका छन् ।
सुन्दरबजार नगरपालिकाको वडा न।७ पाउँदीको एक किराना तथा खाजा पसलबाट बिहीबार नगद चोरी गरी भागेका गोरखाको सिरानचोक गाउँपालिका वडा न ८ घर भई पाउँदीमा बस्ने २५ बर्षका विशाल उपरकोटी पक्राउ परेका हुन् ।
उनले पाउँदीको उक्त खाजापसलमा दिउसो १ बजे कोही नभएको मौका छोपी काउण्टरबाट नगद चोरी गरी भागेका थिए । चोरी गरी भागेको खबर पाएपछि पाउँदीमा रहेको प्रहरी टोलीले चोरको पिछा गरेको थियो । चोर अटो चढेर राइनासतर्फ गएको सूचनाका आधारमा पाउँदी प्रहरीले निजको पिछा गरेकोमा राईनासको वडा नंं ३ टिमुरेको बाँसघारीबाट उनी पक्राउ परेका थिए । पक्राउ परेका उपरकोटीबाट प्रहरीले चोरी गरेको ६१ हजार ५४५ रुपैयाँ समेत बरामद गरेको थियो । उक्त रकम उनले कालो झोलामा राखेर पक्राउ पर्नुअघि जमीनमा गाडेर लुकाएका थिए ।
पक्राउ परेका उपरकोटीलाई चोरी सम्बन्धी कसुरमा आइतबार जिल्ला अदालत लमजुङमा उपस्थित गराइएकोमा जिल्ला अदालतले अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबरकुञ्ज