पर्यटकीय पसगाउँमा १४ औं महोत्सवको तयारी

मिलन शर्मा दनाई

बेसीशहर, फागुन ९ । लमजुङको उत्तर पश्चिममा रहेको रमणीय गुरुङगाउँ पसगाउँमा यही फागुन १९ र २० गते महोत्सवको तयारी गरिएको छ ।

पर्यटकीय घलेगाउँ, घनपोखरा, भुजुङको सिको गर्दै दुई दशक अघिदेखि ग्रामीण पर्यटनको यात्रा तय गरेको पासगाउँले यसपटक १४ औं पसगाउँ महोत्सवको तयारी गरेको हो । महोत्सवको माध्यमबाट गाउँको कला, संस्कृति, भेषभुष, स्थानीय हस्तकलाको प्रदर्शन गरी पसगाउँलाई देश विदेशमा चिनाउन महोत्सव गर्न लागिएको हो ।

यसबाहेक गुरुङ संस्कृति, भेषभूषा र भाषाको संरक्षण र संबद्र्धन, गरी स्थानीयको आर्थिक एवं सामाजिक स्तर उकास्नका लागि महोत्सव सहायक सिद्ध हुने अपेक्षा गरिएको छ । 

महोत्सवको गण्डकी प्रदेश सरकारको संस्थापक मुख्यमन्त्री, प्रतिनिधि सभा सदस्य एबं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले उद्घाटन गर्दैछन् । 

महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न उप समितीहरु गठन गरिएका छन् । युगदेवी गुरुङको संयोजकत्वमा आर्थिक संकलन उप समिति मखत बहादुर गुरुङको संयोजकत्वमा मंन्च व्यवस्थापन उप समिति, रिम बहादुर गुरुङ (गणेश) को संयोजकत्वमा साँस्कृतिक उप समिति, इन्द्र कुमारी गुरुङको संयोजकत्वमा अतिथि व्यवस्थापन उप समिति, थोक बहादुर गुरुङको संयोजकत्वमा खानपान व्यवस्थापन उप समिति, पदम बहादुर गुरुङको संयोजकत्वमा मासु व्यवस्थापन उप समिति, अनिता गुरुङको संयोजकत्वमा स्वास्थ्य सेवा उप समिती, तलकाशी गुरुङको संयोकत्वमा खाजा व्यवस्थापन उप समिति, शर्मिला गुरुङ (दिपु) को संयोजकत्वमा परम्परागत भेषभूषा प्रदर्शनी उप समिति, गोपाल गुरुङको संयोजकत्वमा जन सम्पर्क उप समिति गठन गरी काम अगाडि बढाइएको छ । 

महोत्सवमा लोकप्रिय गुरुङ तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहने बताइएको छ । महोत्सवमा लोकप्रिय कलाकार गोरे गुरुङका साथमा सविना गुरुङ, टस बहादुर गुरुङ, गजेन्द्र गुरुङ, संगिता गुरुङको बेजोड दोहोरी, राज बहादुर गुरुङ, प्रिया गुरुङको गुरुङ गीत एवं अन्य सांस्कृतिक प्रस्तुति राखिएको आयोजकले जानकारी दिएका छन् । यसबाहेक स्थानीय तथा अन्य कलाकारहरुको समेत प्रस्तुतिसमेत रहने बताइएको छ । 

महोत्सवमा स्थानीय सांस्कृति झल्कने आमा समूहको नाच, कृष्ण चरित्र नाच, घाँटु नाँच, सारङ्गी नाँच लगायत परम्परागत नाचहरु समेत देखाइने महाेत्सवका बारे बेसीशहरकाे गरिएकाे पत्रकार सम्मेलनमा क्व्हाेंलसाेंथार गाउँपालिकाका अध्यक्षा एवं पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष सूर्य गुरुङले बताए ।

समुद्री सतहबाट १६५० मिटरको उचाइमा रहेको पसगाउँ लमजुङको क्व्होलासोंथार गाउँपालिकाको वडा नंं ६ मा पर्छ । प्राकृतिक रुपले सुन्दर यो गाउँ गुरुङहरुको बाहुल्यता रहेको गाउँ हो । गुरुङ जातिको कला संस्कृति, भाषा, संस्कार र परम्पराका कारण यो गाउँको छुट्टै महत्व छ । 

पसगाउँमा १ सय ४५ घरधुरी छन् । गाँउमा ११ घरधुरी भुजेल र १२ घरधुरी दलितका छन् । यीमध्ये २१ घरमा होमस्टेको ब्यवस्था मिलाइएको छ । प्रकृति, भाषा, संस्कृति, परम्परागत हस्तकलासंगै आकर्षक ढुङ्गाले छाइएका लस्करै घर पसगाउँका आकर्षण हुन् । यो गाउँबाट सूर्योदय र सुर्यास्तको दृष्य मनमोहक देखिन्छ । यो मनमोहक दृष्य हेर्न र पर्यटकीय गतिविधीलाई विस्तार गर्ने क्रममा पसगाउँको कोम्रे डाँडालाई विकास गरिएको छ । पछिल्लो समय यो डाँडामै शौचालय, खानेपानी तथा विजुली वत्तीको व्यवस्था सहितको पिकनिक स्पटको निर्माण गरिएको छ । यसबाहेक त्यहाँको खुमेरा डाँडा, क्यूवी डाँडा, लेदे डाँडा र पले डाँडासमेत पर्यटकीय दृष्टिकोणले प्रसिद्ध छन् । यी सबै ठाउँमा पर्यटकीय संरचनाहरु निर्माण हुने क्रम जारी रहेको पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष सूर्य गुरुङले बताए ।


गुरुङ सम्पदा मार्गमा पर्छ पसगाउँ । गण्डकी प्रदेशका मुख्य गुरुङ वस्तीलाई छुने गरि बनाइएको यो सम्पदा मार्गमा पर्ने यो गाउँमा पुग्न पहिले जस्तो अहिले समस्या छैन । लमजुङ सदरमुकाम वेशीहरदेखि मालिङ, घाम्राङ, साल्मेभन्ज्याङ हुदै पसगाउँ पुग्न सकिन्छ । घलेगाँउ भुजुङ हुदै पनि पसगाँउ पुग्न सकिन्छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि सिधै रामबजार गिलुङ घाम्राङ हुदै पनि पसगाउँ पुगिन्छ । कास्कीको थुम्सीकोट बालुवा, वगैचा हुदै र तनहूँको दमौली भोर्लेटार गिलुङ हुँदै समेत पसगाँउ पुग्न सकिन्छ । 

करीव १ हजार ५० जनसंख्या रहेको पसगाँउको प्रमुख खाद्मान्य बाली धान, कोदो, मकै हुन् । नगदे बालीमा यहाँका वासिन्दहरु चिया खेती, अलैची खेती, एभाकाडो, किवी खेतीतर्फ आर्कषित छन् । जीवीकापार्जनका लागि लाहुरे हुने प्रचलन पसगाउँमा पनि छ । युवाहरु बैदेशिक रोजगारीमा निर्भर हुँदा गाउँमा महिला, केटाकेटी र बृद्धबृद्धा बढी देखिन्छन् । कला संस्कृतिमा धनी यस गाउँमा कृष्ण चरित्र नृत्य, झयाउरे र सारङ्गी नृत्य, घाँटु जस्ता लोपोन्मुख नृत्यहरु अझै पनि जीवन्त छन् । परम्परागत गुरुङ संस्कृतिको अध्ययनका लागि पसगाउँ राम्रो गन्तब्य पनि हो ।

२०६० सालदेखि पसगाउँमा महोत्सव गर्न थालिएको हो । शुरुवातका बर्षमा आन्तरिक पर्यटकहरुको आगमनमा विस्तारै बृद्धि हुदै गईरहेको अवस्थामा कोभिड १९ को असहज परिस्थितीको कारणले पर्यटन व्यवसाय शिथिल भयो । पर्यटकीय गतिविधिहरु प्राय ठप्प हुन पुगे । कोभिड १९ को सामान्यीकरण पश्चात त्यहाँको पर्यटन क्षेत्र पनि विस्तारै लय तर्फ फर्कदैछ । पर्यटकीय गतिविधि बढ्न थालेका छन् । 

सिल्दु पुजा, छेदुवा पुजा, क्होम्रे देवी पुजा, भवानी पुजा आदि विशिष्ट परम्परा रितीरिवाजहरु रहेको पसगाँउमा पर्यटकीय तथा हेर्न लायक थुप्रै स्थानहरु रहेका छन् । प्राकृतिक शिव लिङ्ग, भोँ भोँ बजाउने ढुङ्गा लगायत धेरै धार्मिक तथा ऐतिहासिक वस्तुहरु पसगाउँका सम्पती हुन् ।

प्रतिक्रिया