बेसीशहर, चैत २० । पूर्वी लमजुङको प्यारजुङ–दूधपोखरी सडक कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकारले उक्त सडकका लागि बजेट विनियोजन गरेर ठेक्का आह्वान भएसंगै राइनास नगरपालिका–१० प्यारजुङ र दूधपोखरी गाउँपालिका–५ गौंडा जोड्ने प्यारजुङ–दूधपोखरी सडक कालोपत्रे हुने भएको हो ।
यस सडक कालोपत्रे गर्नका लागि टेण्डर समेत आव्हन भइसकेको पूर्वाधार विकास कार्यालय, लमजुङले जनाएको छ । यस सडक कालोपत्रे भएपछि पूर्वी लमजुङमा सवारी आवागमनमा सहज हुनुका साथै स्थानीय नागरिकको जनजीविकामा पनि टेवा पुग्ने विश्वास गरिएको छ ।

लमजुङको राइनास नगरपालिकास्थित टिमुरेदेखी बोराङखोला सम्मको सडक पनि कालोपत्रे हुने भएको छ । यो सडक पनि प्रदेश सरकारको बजेटबाट कालोपत्रे हुन लागेको हो । पूर्वाधार विकास कार्यालय लमजुङले कार्यान्वयन गर्ने यो योजनाका लागि कार्यालयले ठेक्का आह्वान गरिसकेको छ ।
दुवै सडक कालोपत्रे भएपछि लमजुङको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको प्रदेशका आर्थिक मामिला मन्त्री डा गुरुङले बताए । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आयोजनाबाट स्थानीय नागरिकहरुको जनजिविकामा टेवा पुग्ने विश्वास ब्यक्त गरेका छन् । मन्त्री गुरुङको विशेष पहलमा सडक कालोपत्रे हुन लागेको बताइएको छ ।
यसैबीच लमजुङको राइनास नगरपालिका–८, हर्राबोटस्थित सर्वोदय सेवाआश्रम धर्मनाथ धाम जाने बाटो पनि ढलान हुुने भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत राइनास नगरपालिकाको हर्राबोटबाट मस्र्याङदी नदी किनारमा रहेको सर्वोदय सेवाश्रमसम्म जाने एक सय ९३ मिटर बाटो पक्की ढलान गर्न लागिएको हो ।
यस योजनाका लागि पूर्वाधार विकास कार्यालय लमजुङमार्फत २० लाख रुपैयाँ विनियोजन भई काम अघि बढाइएको छ । सर्वोदय सेवाआश्रम धर्मनाथ धामका संस्थापक अध्यक्ष कृष्णराज ओलियाका अनुसार स्थानीय रामचन्द्र माझीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी काम अगाडि बढाइएको छ ।
ओलियाले हाल प्राप्त बजेटबाट आश्रममा जाने सडकको मुख्य अफ्ठ्यारो खण्ड ढलान गरी पक्की गराइने छ । आगामी बर्ष पुनः बजेट प्राप्त भएमा बाँकी खण्डमा पनि सडक ढलान गर्ने उनले बताए ।
हालसम्म सरकारी तवरबाट त्यस्तो महत्वपूर्ण सहयोग नपाएको सर्वोदय सेवाश्रमले सडक ढलानका लागि बजेट उपलब्ध गराएकामा प्रदेश सरकारलाई धन्यवाद दिएको छ । संस्थापक अध्यक्ष ओलियाले हाल उक्त आश्रममा १०८ शिवलिङ्गसहित महादेवको मूर्ति, शालिग्राम, १०८ गोमुखी धारा लगायतको स्थापना गरी धार्मिक केन्द्रको रुपमा विकास गर्न लागिएको जानकारी दिए ।

खबरकुञ्ज