आज साउने संक्रान्ति पर्व, मीठाे मसिनाे खाएर घरघरबाट लुताे फालिँदै

बेसीशहर । आज साउने संक्रान्ति पर्व, हिन्दू धार्मिक संस्कार अनुसार परम्परादेखि लुताे फाल्ने परम्परा छ । आजकाे दिन पूजा अर्चना, स्नान, दान र मीठाे मसिनाे खाएर देशभर मनाइन्छ ।

आजदेखि नै सूर्य दक्षिण हुने भएकाले आजैदेखि दक्षिणायन सुरु हुने धार्मिक मान्यता छ । सूर्यले आजकै दिनदेखि मिथुन राशी छाेडेर कर्कट राशिमा प्रवेश गर्ने हुँदा यसकाे धार्मिक र खगाेलिय महत्व पनि छ ।

नेपाली समाजमा आजकाे दिन बेलुका घर घरमा लुताे फाल्ने परम्परा छ । कृषि प्रधान देश भएकाले नेपालमा असार महिनाभर किसानहरू खेत रोपाइँमा व्यस्त हुने, हिलाे मैलाेमा काम गर्दा शरीर र विशेषगरी छालाकाे राेग लाग्ने खटिरा आउने हुन्छ । साउने संक्रान्तिका दिन नुहाएर सरसफाइ गरी बेलुका लुताे फाल्ने चलन छ ।

लुताे फाल्नका लागि परम्परादेखि नै कुकुरडाइनाे, पानीसरा, गुह्येसरा, कुरिलाे, जनै लहराे जस्ता औषधीय महत्वका जडिबुटीहरूका साथै जाेले (जाेडी) सुन्तला,  जाेले कागती, जाेले बेलाउति, जाेले निबुवा, आदि फलफूल र बनस्पति राखेर लुतेदेवीकाे पूजा गरी अगुल्टो फाल्ने चलन छ । 

बेलुकीपख गाउँघरमा पातीका सिठा बालेर त्यसमा अगुल्टा झाेसेर, अगुल्टाे बल्न थालेपछि हातमा लिएर "लुताे, पिलाे, घाउ, खटिरा, राेग, ब्याध सबै लैजा है" भनि फलाक्दै अगुल्टाे फाल्ने परम्परा छ । यसरी फलाक्दै अगुल्टाे फाल्दा राेग ब्यध हट्ने र लुताेसहित शरीरका घाउ खटिरा निकाे हुने जनविश्वास छ ।

साउनकाे पहिलाे दिन बेलुका लुताे फालेपछि तिघ्रेफूल, बेसार, मकरकाँची, दहीकम्लाे जस्ता बनस्पति मिसाएर हात र खुट्टामा लगाउने चलन छ । अचेल भने बजारमा पाइने तयारी मेहन्दी लगाउने चलन बढेकाे छ ।

साउन महिना भगवान आशुताेष शिवजीकाे प्रिय महिना भएकाले यसमहिनाभर शिवजीको पूजा गरेर मनाइन्छ ।  बिशेषगरी साेमबार शिवजीकाे बिशेष दिन भएकाले साउनकाे साेमबार देशभरका शिवालयहरूमा भक्तजनकाे ठूलाे भीड लाग्छ ।

साउन र विशेष गरी साउने साेमबारका दिन काठमाडौंको पशुपतिनाथ, भक्तपुरकाे डाेलेश्वर महादेव, लमजुङकाे इशानेश्वर महादेव, लगायत देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्छ । 

आज साेमबार र औंसीसमेत परेकाले यस दिनकाे बिशेष महत्व छ । साउन महिनामा असारमा राेपेकाे राेपाे पनि हरियाे भएर जताततै हरियाली छाउने भएकाले यस महिनामा महिलाहरू हरियो चुरा, हरियाे सारी, हरियै ब्लाउज लगाउने गर्छन् ।

कर्णाली प्रदेशमा साउने संक्रान्तिको दिन कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिएकाे छ ।

प्रतिक्रिया