बेसीशहर, चैत्र १७ गते । स्मार्ट भिलेज घलेगाउँमा यही बैशाख १ गतेदेखि स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप फुटवल प्रतियोगिता हुने भएको छ ।
पर्यटन ब्यवस्थापन समिति घलेगाउँको आयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका १२ टीमहरुले प्रतिस्पर्धा गर्नेछन् । त्रिवेणी युवा क्लव बेसीशहर, बेसीशहर युथ सोसाईटी, नाल्मा ११ र बेसीशहर नगरपालिका ५, विवाईसी भोटेओडार लमजुङ, भूईखेल फुटवल क्लव काठमाडौं, अभिषेक चर्च रजहर, फ्रेन्डसिप युथ क्लव तनहुँ, गुन्नी फुटवल क्लव पोखरा, सीवाईसी नेपाल युनाइटेड तुरतुरे, रोड्स रामपुर चितवन, एन्फा मनाङ र भारतको एम एस सी क्लव वालियाले यो प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।

शनिबार बेसीशहरमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक पर्यटन ब्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले नेपालमा सर्वाधिक उचाइमा यो स्तरको प्रतियोगिता पहिलो पटक आयोजना भएको दावी गरे । प्रतियोगिता आयोजना गरिएको घलेगाउ समुद्री सतहदेखि २ हजार १ सय मिटरको उचाइमा पर्छ ।
घलेगाउँमा ग्रामीण पर्यटन शुरु भएको २५ बर्ष पुगेको अवसरमा आयोजित रजत जयन्तीको प्रमुख आकर्षणको रुपमा यो प्रतियोगिता रहेको छ । घलेगाउँको स्वर्गभूमि रंगशालामा बैशाख १ गतेदेखि शुरु हुने प्रतियोगिता नेपाल सरकारका सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने छन् ।
प्रतियोगिताको विजेताले नगद ६ लाख ५ सय ५५ रुपैयाँ स्मार्ट भिलेज गोल्ड कप र स्वर्णपदक जित्नेछन् । उपविजेताले नगद ३ लाख ५० हजार २ सय ५५ र रजत पदक पाउने छ ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता र सर्बोत्कृष्ट खेलाडीले १०÷१० हजार पुरस्कार पाउने छन् । प्रतियोगी टीमलाई खाने बस्ने ब्यवस्था आयोजकले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
खबरकुञ्ज