नेटामा बर्थिङ सेण्टर र एम्बुलेन्स हस्तान्तरण, गरीबलाइ एम्बुलेन्स सेवा निःशुल्क

भाेर्लेटार । लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नं १० नेटामा बर्थिङ सेण्टरकाे उद्घाटन र नेटा स्वास्थ्य चाैकीलाइ एम्बुलेन्स हस्तान्तरण गरिएकाे छ ।

मध्यनेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डेले आइतबार नेटामा एक समाराेहबीच बर्थिङ सेण्टरकाे उद्घाटन गरी स्वास्थ्य चाैकीलाइ एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

मध्यनेपालकाे वडा नं. १० नेटाका बासीन्दालाइ गाउँमै सुरक्षित प्रसुति सेवा उपलब्ध गराउन हालै निर्माण सम्पन्न भएकाे बर्थिङ सेण्टरमा सेवा सञ्चालनकाे ब्यवस्था गरिएकाे हाे । गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएसँगै नेटा तथा थानसिङवासीलाई सुरक्षित प्रसुति गराउन सदरमुकाम बेसीशहर, सुन्दरबजार वा रामबजार जानु पर्ने बाध्यता हट्ने मेयर पाण्डेले बताए । 

मध्यनेपाल वडा नं. १० का वडाध्यक्ष रामचन्द्र भण्डारीले नेटा स्वास्थ्यचाैकी संगै निर्माण भएकाे बर्थिङ सेण्टरमा अहेब, अनमि तथा नर्सिङ स्टाफसमेत गरी ५ जना स्वास्थ्यकर्मीकाे ब्यवस्था मिलाइएकाे छ । वडाध्यक्ष भण्डारीले बर्थिङ सेण्टरमा सुरक्षित सुत्केरी गराउन नसकिने अवस्थामा नगरप्रमुख आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुरक्षित स्थानमा रेफर गरिने र त्यहाँसम्म सुत्केरीलाइ लैजान स्वास्थ्यकर्मीसहित निःशुल्क एम्बुलेन्सकाे ब्यवस्था मिलाइने जानकारी दिए ।


याे संगै मध्यनेपाल नगरपालिकाका १० मध्ये ८ वटा वडामा बर्थिङ बर्थिङ सेण्टर स्थापना भएका छन् । ती बर्थिङ सेण्टरबाट गर्भावस्थामा गर्नुपर्ने नियमित गर्भजाँच र २४ सै घन्टा प्रसूति सेवा प्रदान गरिने छ । गाउँमै सुरक्षित प्रसूति सेवा सुरु भएपछि नेटावासीलाई सहज भएको छ । 

सरकारले स्वास्थ्य चौकीमा प्रसूति गराउनेलाई यातायात खर्चबापत दुई हजार रुपैयाँ, नियमित प्रसूति जाँच प्रोत्साहनस्वरूप आठ सय रुपैयाँसहित आमालाई एक सेट र बच्चालाई दुई सेट कपडा पनि उपलब्ध गराउँदै आएकाे छ ।

यसैबीच वडा नं. १० नेटामा  एम्बुलेन्स सेवाकाे पनि अाइतबार शुरूवात गरिएकाे छ । भारतीय राजदूतावासले मध्यनेपाल नगरपालिकालाइ उपलब्ध गराएकाे एम्बुलेन्स नगरपालिकाले नेटा स्वास्थ्य चाैकीलाइ उपलब्ध गराएकाे हाे । साे अवसरमा एम्बुलेन्स हस्तान्तरण गर्दै मेयर पाण्डेले गरिब, निमुखा तथा बेबारिसे बिरामीहरूका लागि एम्बुलेन्स सेवा निःशुल्क हुने जानकारी दिए ।

भारतीय राजदूतावासले उपलब्ध गराएकाे याे एम्बुलेन्स ख बर्गकाे हाे । मध्यनेपालमा याेसंगै ख बर्गका एम्बुलेन्सकाे संख्या ३ वटा पुगेकाे स्वास्थ्य शाखाका प्रमुख सुर्यप्रसाद पाैडेलले जानकारी दिए ।



प्रतिक्रिया