कान्तिपुर का अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पूर्जी जारी, पक्राउ गर्न कान्तिपुरकाे कार्यालय पुग्याे प्रहरी

काठमाडौं, जेठ ८ गते । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

उनले दोहोरो नागरिकता लिएका भन्दै धनुषा प्रहरीमा गत बैशाख १६ गते जाहेरी परेकोमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत धनुषासंग अनुमति माग गरेका थियो । आज अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेको हो ।

सिरोहियालाई पक्राउ गर्न नेपाल प्रहरी कान्तिपुरको कार्यालयमा पुगेको छ । यो समाचार तयार गर्दासम्म उनी पक्राउ परिसकेका छैनन् ।

दोहोरो नागरिकताका सम्बन्धमा पक्राउ पूर्जी जारी भएपछि सिरोहिया त्यसलाई रोक्न सर्वोच्च अदालत पुगेका छन् । उनले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरे पनि दर्ता भइनसकेको बुझिएको छ । उनले रिटमा कारण देखाऊ आदेश समेत माग गर्दै पक्राउ पुर्जी असंवैधानिक भएकाले अन्तरिम आदेश मार्फत रोकिनुपर्ने  माग गरेका छन् ।

उनले आफू र आफ्नो मिडियालाई सिध्याउन नागरिकताको बहनामा पक्राउ पूर्जी जारी गरिएको भन्दै आफ्नो नागरिकता छानबिनका लागि तयार रहेको बताएका छन् । सहकारी ठगीका बिषयमा आफ्नो सञ्चारमाध्यमले लेखेको समाचारबाट विचलित भई पूर्वाग्रही रुपमा आफू विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उनले दावी गरेका छन् ।

सिरोहियाले नामै किटेर यसमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको हात रहेको बताएका छन् । कान्तिपुर टेलिभिजनबाट एक सन्देश मार्फत उनले रवि लामिछानेको पनि दुईवटा पासपोर्ट रहेको भन्दै पहिले उनलाई पनि पक्राउ गरी पछि मात्र छानवीन गर्न माग गरेका छन् ।

प्रतिक्रिया