हिमालपारीको जिल्ला मनाङमा यही आउँदाे नयाँ बर्षदेखि बस चढेर जान पाइने

खबरकुञ्ज

बेसीशहर । उत्तरी लमजुङ हुँदै हिमालपारीको जिल्ला मनाङमा यही आउँदाे नयाँ बर्षदेखि सार्वजनिक बस चढेर जान पाइने भएको छ । 

डेढ दशक अघिनै मोटर चल्न थालेको मनाङमा पहिलो पटक सार्वजनिक बस सञ्चालन हुन लागेको हो । हालसम्म हालसम्म मनाङमा बोलेरो, टाटासुमो जस्ता साना सवारी साधनले मात्र यातायात सेवा दिइरहेकामा यही चैत्र महिनाभित्र सार्वजनिक बस सञ्चालनको तयारी गरिएको छ । 

आउँदो बैशाख १ गते नयाँ बर्षदेखि सार्वजनिक बसको टिकट काटेरै चामेसम्मको यात्रा गर्न सकिने गरी तयारी भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मनाङले मनाङ सदरमुकाम चामेसम्म सार्वजनिक बस सञ्चालनका लागि आइतबार समन्वयात्मक वैठक राखेको थियो । वैठकमा सहभागीहरुले चैत महिनाभित्रै चामेसम्म सार्वजनिक बस सञ्चालन गर्न आवश्यक पूर्व तयारी सक्ने गरी काम गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा बसेको वैठकमा मनाङ जिल्लास्थित सुरक्षा निकायका प्रमुख, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घले, नासो गाउँपालिकाका उपाध्यक्ष वेद वहादुर गुरुङ, र पूर्वाधार विकास कार्यालयका प्रमुख र यातायात ब्यवसायीसमेत सहभागी थिए ।

६४ किलोमिटर दुरी रहेको बेसीशहर–चामे सडकको स्तरोन्नतिसंगै स्थानीय, कर्मचारी र पर्यटकहरुको आवश्यकता महशुस गरी सार्वजनिक बस सञ्चालनको तयारी गरिएको प्रजिअ आचार्यले बताए ।

सार्वजनिक बस सञ्चालनका लागि सडकको अवस्था हेरी घुम्ती लगायत आवश्यक स्थानमा सडकको मर्मत सम्भार गरिने उनले जानकारी दिए । यातायात ब्यवसायीहरुले बस सञ्चालनका लागि रुट इजाजत लिने र त्यसपछि सार्वजनिक बसको भाडा निर्धारण गरि सार्वजनिक बस सञ्चालन गरिने प्रजिअ आचार्यले बताए ।

हाल मनाङको चामेमा १३५ मेगावाट क्षमताको मनाङ मस्र्याङदी जलविद्युत आयोजना निर्माणाधीन छ । यो आयोजनाले बेसीशहर–चामे सडकको स्तरउन्नति गरिरहेकाले सडकको अवस्था सुधार भइ सार्वजनिक बस सञ्चलन गर्न सकिने ठहर वैठकले गरेको छ ।

बेसीशहरबाट खुदीसम्मको ७ किलोमिटर सडक कालोपत्रे छ । खुदीभन्दा माथि चामेसम्म ठाउँठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर सडकको अप्ठेरो र घुम्तीमा सडक मर्मत सुधार गरी बस सञ्चालनको तयारी गरिएको प्रजिअ आचार्यले जानकारी दिए ।

बेसीशहरबाट चामेसम्मको ६४ किलोमिटर सडकमा यात्रा गर्न अहिले बोलेरो जीपहरुले १ हजार २ सय ५० भाडा लिने गरेका छन् । बेसीशहरबाट चामेसम्म तिनै सवारी साधनले मालसामान समेत ढुवानी गर्ने गर्छन् । ५ जना यात्रु अट्ने ती जीपहरुले १० देखि १५ जनासम्म यात्रु र मालसामन समेत बोक्दा यात्रा जोखिमपूर्ण समेत बन्ने गरेको छ ।

यसबाहेक पर्यटक आउने सिजनमा ती सवारी साधनले यात्रु नबोक्ने समस्या पनि छ । विदेशी पर्यटकसंग चर्को भाडा असुल्ने जीपहरुका कारण मनाङका बासीन्दा र मनाङ पुग्ने आन्तरिक पर्यटक र कर्मचारीहरु हैरान हुने गरेको परिवेशमा सार्वजनिक बस सञ्चालन भएमा यात्रुहरुले आरामदायी र सुरक्षित यात्रा गर्न पाउने अपेक्षा गरिएको छ । मनाङमा बस सञ्चालन भएमा उत्तरी लमजुङका बासीन्दाले पनि सहज रूपमा यात्रा गर्न पाउने छन् ।

प्रजिअ आचार्यले तत्कालका लागि चामेसम्म सार्वजनिक यातायात सञ्चालन गर्ने र भविष्यमा माथिल्लो मनाङको खाङसारसम्मै माइक्रोबस तथा मिनीबस सञ्चालनका लागि पहल गरिने जानकारी दिए ।


प्रतिक्रिया