बेसीशहर माघ २८ । लमजुङको मर्स्याङदी गाउँपालिकाले सो पालिकाको वडा नं. ४ जगतमा रहेको तातोपानी कुण्डलाई थप ब्यवस्थित बनाउने भएको छ ।
संघ सरकार र गाउँपालिकाको बजेटबाट यसैबर्षबाट तातोपानी कुण्डलाई ब्यवस्थित बनाउने योजना बनाइएको हो । यसका लागि गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, वडा नंं ४ का वडाध्यक्ष बलबहादुर गुरुङ, गाउँपालिकाका इन्जिनियर सुरेश गौतमसहितको टोलीले तातोपानी कुण्डको अवलोकन गरी फर्केको छ ।
जगत बजारबाट मुन्तिर ५ मिनेटको दुरीमा मर्स्याङदी नदीको किनारमा रहेको तातोपानी कुण्डमा गएर डुबुल्की लगाउनेहरुको अहिले भीड हुने गरेको छ । अहिले हिउँदको बेला भएकाले पनि त्यहाँ नुहाउन जानेहरुको भीड हुने गरेको र शनिबारका दिन भीडभाड अलि बढि नै हुने गरेको स्थानीयले बताएका छन् ।

उक्त तातोपानी कुण्डमा नुहाउँदा छाला सम्बन्धी, बाथ तथा हाडजोर्नीका रोगहरु निको हुने गरेको स्थानीयले बताए । उनीहरूका अनुसार बेसीशहर, सुन्दरबजार, राईनास, दोर्दीदेखिका मानिसहरु उक्त कुण्डमा नुहाउन जाने गरेका छन् ।
मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उक्त तातोपानी कुण्डको पानीमा औषधीय गुण रहेको पाइएकाले तातोपानी कुण्डलाई थप ब्यवस्थित बनाई त्यस क्षेत्रको विकास गर्न गाउँपालिकाले पहल गरेको जानकारी दिए । उनले आफूले प्राविधिकसहितको गाउँपालिकाको टीम लगेर त्यहाँको अवलोकन गरेको जानकारी दिँदै त्यस ठाउँमा तातोपानीको श्रोत पनि पर्यप्त रहेको र ठाउँसमेत उपयुक्त रहेकाले थप ब्यबस्थित कुण्ड निर्माण गर्न लागिएको जानकारी दिए ।

उनले भने- “त्यहाँको पानी तातो र धमिलो मेडिकेटर(औषधीय गुण) खालको रहेछ, ठाउँ पनि उपयुक्त छ । नदीको बाढीले बगाउने जोखिमसमेत नरहेकाले धेरै मान्छेले एकैचोटी नुहाउन/बस्न मिल्ने गरी तातोपानी कुण्डको विस्तार गर्ने योजना छ । त्यहाँ नुहाउनेहरुका लागि कपडा फेर्न चेन्जिङ रुम, धारा र पोखरी बनाउने हाम्रो योजना हो ।”
अध्यक्ष गुरुङले गाउँपालिकाले पर्यटनको क्षेत्रमा छुट्याएको बजेट र संघीय बजेटसमेत गरी करीब २० लाख रुपैयाँको त्यहाँ लगानी गर्न सकिने बताउँदै उक्त कामका लागि लागत स्टेमेट तयार हुँदै गरेको जानकारी दिए ।

मर्स्याङदी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष बलबहादुर गुरुङ भन्छन्– “हामी त्यस ठाउँमा पिकनिक स्पट र पार्क सहितको ब्यवस्थित तातोपानी कुण्ड निर्माण गर्ने योजनामा छौं ।”
जगत बजार मुन्तिर मर्स्याङदी नदी किनारमा यस अघि गाउँपालिकाकै लगानीमा बनाइएको अर्को तातोपानीको कुण्ड बाढीले बगाएपछि त्यहाँ भन्दा केही तलतिर अर्को कुण्ड बनाइएको हो । त्यहाँ सामान्य दुइवटा पाेखरी, पाटी र शाैचालय छ । अहिले बनाइएको कुण्ड पहिलेको भन्दा सुरक्षित स्थानमा रहको र कुण्डमा रहेको पानी अघिल्लो कुण्डको भन्दा पनि बढी औषधीय गुण रहेको बताइन्छ ।
यस अघि अर्खले बेसी नजिकै मर्स्याङदी गाउँपालिका ६ बाहुनडाँडामा पर्ने मर्स्याङदी नदीको किनारमा रहेको तातोपानी कुण्डको नदीमा आएको बाढीले बगाउँदा मूल समेत हराएको थियो ।
मिलन शर्मा दनाई