बेसीशहर, भदौ २१ । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा बिहानैदेखि महिलाहरु निरहार बसी शिव–पार्वतीको विशेष पूजा आराधना गर्ने गर्छन् ।
विवाहित महिलाले तीजको ब्रत लिएमा पतिपत्नीबीच शिवपार्वतीकै जस्तो प्रेम बसी पारिवारिक सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । यस्तै अविवाहित महिलाहरुले यो ब्रत बसे महादेव जस्तै श्रीमान पाउने विश्वास गरिन्छ ।
पौराणिक कालमा हिमालयकी पुत्री जगन्माता पार्वतीले महादेवलाई स्वामी पाउँ भनि आजैका दिन निरहार ब्रत बसी ब्रतका प्रभावले महादेवलाई स्वामी पाएको कथाका आधारमा तीजको ब्रत बस्ने परम्परा चलि आएको हो ।
बिशेष गरी महिलाहरु आफ्नो अटल सौभाग्यको कामना गर्दै तीजको ब्रत बस्ने गर्छन् । यसबाहेक सन्तान प्राप्ती, आफूले रोजेको वर प्राप्तीको लागि पनि तीजको ब्रत उत्तम मानिएको छ । आजका दिन ब्रत बसी शिवपार्वतीको पूजा अराधना गर्नाले मनोकामना पुरा हुने विश्वासका साथ काठमाडौंको पशुपतिनाथ मन्दिर लगायत शिवालयहरुमा भक्तजनको बिशेष भीड लागेको छ ।
यो व्रत निराहार बसिने भएकाले ब्रतको अघिल्लो राती दर खाने चलन छ । लट्टे, खीर लगायतका मीठा मीठा परिकार खाएर पेट दरो पारी तीजको ब्रत बस्ने गरिन्छ । तीजमा माइत गएर राती आमा दाजुभाइले पकाएको दर चेलीहरुका लागि निकै महत्वपूर्ण हुन्छ ।
तीजमा धक फुकाएर महिलाहरुले नाचगान गर्छन् । पहिले पहिले तीजमा भगवानको भक्तिमा आधारित गीतहरुका साथै महादेव पार्वतीका लीला, कृष्ण लीला आदिलाई गीतमा ढालेर गाउन गरिन्थ्यो । पछि दिदीबहिनीहरु जम्मा भएर महिलाहरुका दुःख र वेदनाका गीतहरु गाउन थालियो । हिजो आज भने उच्छृंखल गीतहरु समेत गाउने गरिएको छ ।
तीजको अघिल्लो दिन दरखाने दिनबाट शुरु हुने तीज ऋषि पञ्चमीमा सप्तऋषिहरुको पूजा अर्चना गरी समापन हुन्छ । ऋषि पञ्चमीमा नदी, खोला, तलाउमा गइ दत्तीवन लगाउन नुहाउने गरी दिउसो सप्तऋषिहरुको पूजा गर्दा रजस्वलाको दोष मेटिने धार्मिक मान्यता रहँदै आएको छ ।
खबरकुञ्ज