बेसीशहर चैत २३ गते । कुनै दिन गाउँका बारीमा मोजाको फुटबल खेल्ने एक ग्रामीण किशोरी नेपालकै सर्वाधिक चर्चित खेलाडि बन्छिन् भन्ने कसलाई पो थाह थियो र ? स्वयं ती किशोरीले पनि आफू यो उचाइमा पुग्छु भन्ने शायदै सोचेकी थिइन् । तर कहिलेकाहिँ नसोचेको हुन्छ । मानिसले लक्ष्य निर्धारण गरी त्यही अनुसारको मेहनेत गर्न सके नसोचेको सफलता प्राप्त हुँदो रहेछ । यसको उदाहरण बेनेकी छन् सावित्रा भण्डारी अर्थात साम्बा ।
लमजुङको मर्स्याङदी गाउँपालिका वडा नंं ९ सिम्पानीमा जन्मेकी सावित्रा भण्डारी नेपाली महिला फुटबलकी गहना हुन् । नेपालका लागि सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने कीर्तिमान गरेकी उनले नेपालका लागि अहिलेसम्म ५७ गोल गरिसकेकी छन् । नेपालको एपिएफ क्लबबाट शुरु भएको फुटबल करिअर शुरु गरेकी साम्बा युरोपमा फुटबल खेल्ने पहिलो नेपाली पनि हुन् । अहिले फ्रान्समा रहेर युरोपियन फुटबलमा पनि धमाका मच्चाउँदै गरेकी उनको सफलता नेपाली फुटबलकै लागि दुर्लभ उपलब्धि बनेको छ ।

एपिएफ क्लव हुँदै सन् २०१४ बाट नेपालको राष्ट्रिय जर्सी पहिरिन थालेकी साम्बा अहिले २७ बर्षकी भइन् । यति कम उमेरमा अन्तराष्ट्रिय स्तरमा आफ्नो छबि बनाउन र देशलाई चिनाउने उनको मेहनेतलाई उनको जन्मथलोले उच्च मूल्याङ्ककन गर्दै उनको सम्मान गरेको छ । उनको जन्मथलो लमजुङको मस्र्याङदी गाउँपालिकाले उनको सम्मानमा साम्बाचोक घोषणा गरेको छ । डुम्रे बेसीशहर चामे सडक अन्तर्गत लमजुङको मर्स्याङदी गाउँपालिका ९ खुदी हुँदै घलेगाउँ जाने सडकको खुदीखोला वरको चोकलाई उनको नाम दिइएको हो ।
गत चैत ३ गते मर्स्याङदी गाउँपालिकाको कार्यपालिका वैठकले साम्बाचोक नामाकरण गर्ने निर्णय गरे अनुसार सोही चोकमा उनको फुटबल खेल्दै गरेको होर्डिङबोर्ड राख्ने तयारी गरिसकेको छ । बेसीशहरको सप्तरंगी आर्टसले होर्डिङबोर्ड तयार गरीसकेको छ । अब केही दिनभित्रै लगेर राख्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।
फुटबल खेल्नकै लागि जन्मिएकी असाधारण क्षमताकी साम्बाले जन्मस्थल र देशकै गरिमा उचो बनाएकाले उनको सम्मानमा साम्बाचोक नामाकरण गरिएको अध्यक्ष गुरुङले बताए ।
खबरकुञ्ज