करपुरेश्वर महादेव मन्दिरमा बृहत सरसफाई

खबरकुञ्ज

बेसीशहर साउन ४ गते । साउन महिना हिन्दुधर्मालम्बीहरूको लागि निकै महत्वपूर्ण मानिन्छ । यस महिनाभर र विशेषगरी सोमबारको दिन देवादिदेव महादेवको पूजा अर्चना गरी व्रत बस्ने परम्परा छ । साउनको महिना सदाशिव महादेवको प्रिय महिना र सोमबारको दिन महादेवको प्रिय दिन भएकाले साउनको सोमबारले विशेष अर्थ राख्छ ।

यस बर्षको साउनको पहिलो सोमबार साउन ५ गते पर्छ । यस दिनको पूर्व सन्ध्यामा लमजुङको बेसीशहर नगरपालिकाको वडा नंं ८ मा रहेको करपुरेश्वर महादेव मन्दिरमा बृहत सरसफाई गरिएको छ ।

बेसीशहरको वडा नं. ८ मा रहेको करपुरेश्वर महिला विकास समिति र सशस्त्र प्रहरीको आश्रित गुल्मले संयुक्त रुपमा मन्दिर परिसरमा सरसफाइ गरेका हुन् । साउनको सोमबार मन्दिरमा महादेवलाई जलाभिषेक तथा वेलपत्र चढाउने भक्तजनको घुइँचो हुने भएकाले भक्तजनको सुविधालाई मध्यनजर गर्दै मन्दिर सरसफाई गरिएको समितिका अध्यक्ष कल्पना दनाई सेढाइँले जानकारी दिइन् ।

यस अभियानका क्रममा मन्दिर जाने सडक र मन्दिर परिसरमा जथाभावी फालिएको फोहोर र मन्दिर परिसरका अनावश्यक झारपातहरु सफाई गरिएको थियो । समितिमा आवद्ध महिलाहरुले मन्दिर संरक्षण समिति, वडा कार्यालय र नगरपालिकाको वेवास्ताका कारण मन्दिर अस्तब्यस्त भएको र फोहोर जम्मा गर्ने बाल्टीहरु पनि नभएकोले ब्यवस्थित बनाउन े सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

साउन महिना र विशेष गरी सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिर, वराहक्षेत्र, देवघाटधामसहित लमजुङ करापुटारको ईशानेश्वर (सन्तानेश्वर) महादेव, बेसीशहरको करपुरेश्वर महादेव मन्दिर लगायत शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको घुइचो लाग्ने गर्दछ । साउन महिनाभर भगवान सदाशिवको महिमा सुनेर सोमबारको दिन विशेष रूपमा पूजा अर्चना गरी ब्रत बस्ने परम्परा छ । 


प्रतिक्रिया