बेसीशहर, २७ कार्तिक । मर्स्याङदी नदीमा बन्न लागेको ५० मेगावाटको मर्स्याङदी बेसी जलविद्युत आयोजना निर्माणको बिरोधमा बेसीशहरबासीले प्रतिकार गर्ने भएका छन् ।
बेसीशहरमा आज भएको बृहत अन्तरक्रियामा सहभागीहरुले बेसीशहरको सुन्दरता बिगार्ने र बेसीशहर दूरगामी रुपमा नकरात्मक प्रभाव पर्ने गरी जलविद्युत आयोजना निर्माण हुन दिन नहुने भन्दै आवश्यक परेमा प्रतिकारमा उत्रने निर्णय गरेका छन् ।
प्रकृति बचाऔं, मर्स्याङदी बचाऔं भन्न मूल नारा लिएर बेसीशहरका सचेत युवाहरुले आज बेसीशहरमा सो सम्बन्धमा छलफल आयोजना गरेका थिए । छलफलमा अधिकांशले जलविद्युत आयोजना निर्माण भएमा त्यसले पार्ने दूरगामी प्रभावकाले बेसीशहरमा बस्नै नसकिने अवस्था सिर्जना हुने भन्दै स्थानीयको स्वीकृति र हित विपरित जलविद्युत आयोजना सञ्चालन हुन नहुने बताए ।
कार्यक्रममा नागरिक अगुवा डा. बालकृष्ण बराल, कृष्ण कुमार प्रधान, जनक बस्नेत, सुरेश प्रधान, खेमजंग गुरुङ, चन्द्र मिश्र लगायतले जलविद्युत आयोजनाले बेसीशहरमा पार्ने नकरात्मक प्रभाव, आइएलओ १६९, राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन र स्थानीयहरुको अग्राधिकारका सम्बन्धमा आफ्ना विचार ब्यक्त गरे ।
कार्यक्रममा सहभागी र वक्ता सबैले बेसीशहर नगर क्षेत्रमा निशर्त रुपमा मर्स्याङदीको प्राकृतिक बहावमा परिवर्तन हुन नहुनेमा जोड दिँदै स्थानीयलाई बेवास्ता गदै बलमिच्याई गरेर जलविद्युत आयोजना निर्माण अघि बढाइएमा स्थानीयले जुनसकै मूल्य चुकाउन पनि तयार रहेको बताए ।
कार्यक्रममा सहभागीले मर्स्याङदी नदी प्रकृतिले बेसीशहरलाई दिएको सुन्दर बरदान हो भन्दै मर्स्याङदी नदीलाई सुरुङमा पठाउँदा बेसीशहरको सुन्दरता नासिने मात्र नभई खानेपानीका मूल सुकेर खानेपानी अभाव हुने, कमजोर भूबनोटका कारण पहिरोको समस्या आउने, जलचरको बिनास लगायत इकोसिस्टममा पार्ने प्रभावका साथै परम्परादेखि चल्दै आएको धार्मिक तथा सांस्कृतिक रितिस्थितिमा पनि असर पर्ने भएकाले मर्स्याङदी नदीमा कुनै आयोजना निर्माण हुन नहुनेमा जोड दिए ।
नेपालको प्रचलित कानुनले शहर बजारको ४–५ किलोमिटर वरपर जलविद्युत योजना बनाउन नहुने ब्यवस्था भएको अन्तरक्रियाका अवसरमा दावी गरिएको थियो । बजार क्षेत्रमा जलविद्युत योजना निर्माण गर्न कानुनी रुपमै बञ्देज भए पनि उक्त कानुन तोडेर निर्माण गर्न लागिएको भन्दै सहभागीले आपत्ती जनाए ।
भेलाले मस्र्याङदी नदीमा कुनै पनि हालतमा जलविद्युत योजना बन्न नहुने निष्कर्ष निकाल्दै अहिले निर्माणको क्रममा रहेको ५० मेगावाट क्षमताको मर्स्याङदी बेसी जलविद्युत आयोजनाको बिरोधमा २७ सदस्यीय मर्स्याङदी बचाऔं संघर्ष समिति गठन गरेको छ ।

संघर्ष समितिको संयोजकमा रामबहादुर थापा, सह संयोजकमा जनक राज बस्नेत, सचिवमा सुरेश कुमार प्रधान, कोषाध्यक्षमा नेत्र बहादुर गुरुङ चयन भएका छन् । समितिको सदस्यमा खुशीजंग गुरुङ, भीम गुरुङ, विकल घिमिरे, खुशी बराल, रमेश केसी, राजकुमार घिमिरे, विजय श्रेष्ठ, टेकजंग गुरुङ, दिनेश श्रेष्ठ, सरोज शर्मा वाग्ले, गजेन्द्र श्रेष्ठ, सोमबहादुर गुरुङ, मोहन बस्नेत, कृष्ण राना मगर, उपेन्द्र गुरुङ, रस बहादुर गुरुङm नारायण श्रेष्ठ, अमित कुमार श्रेष्ठ, हरि बहादुर धिताल, कृष्ण भुजेल, सलिना श्रेष्ठ, उर्मिला घले, सोममाया तामाङ, लोकमाया घले, बलराम खत्री, बसन्त रावत र कमल अधिकारी चयन भएका छन् ।
भेलाले आन्दोलनको औचित्य र आवश्यकता अनुसार अरु सदस्य थप गर्दै जाने पनि निर्णय गरेको छ ।

अन्तरक्रिया पश्चात संघर्ष समितिले बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याललाई भेट गरी बेसीशहरका बसीन्दाको मुद्दा र नगरपालिकाको दृष्टिकोणबारे छलफल गरेको थियो । छलफलमा मेयर गुमानसिंह अर्यालले बेसीशहर नगरपालिका बेसीशहरका बासीन्दाको साथमै रहेको, यहाँका जनताका समस्या र मुद्दा नगरपालिकाको समेत रहेकाले नगरपालिकाको तर्फबाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

संघर्ष समितिले आजै जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ । जिल्ला प्रशासनको वैठक कक्षमा प्रमुख जिल्ला अधिकारीको रवैयाप्रति खेद ब्यक्त गर्दै युवाहरुले वैठक कक्षमै नारावाजी गरेका थिए ।
खबरकुञ्ज