करापुटारमा इशानेश्वर धार्मिक तथा सांस्कृतिक महाेत्सव २०८० शुरू

बेसीशहर, फागुन २२ गते । लमजुङकाे मध्यनेपाल नगरपालिका ७, करापुटारमा रहेको ईशानेश्वर महादेव मन्दिर परिसरमा करापुटार धार्मिक तथा सांस्कृतिक महाेत्सव मंगलबारदेखि शुरू भएकाे छ ।  महाशिवरात्रीको अवसर पारेर इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले करापुटारमा धार्मिक तथा सांस्कृतिक महोत्सव गरेकाे हाे । महाेत्सव २० फागुनबाट गरिने भनिए पनि माैसमका कारण स्थगित भइ मंगलबारबाट शुरू भएकाे हाे ।


महाेत्सवकाे मध्यनेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डेले एक भब्य समाराेहबीच उद्घाटन गरे । महाेत्सव शुरू हुनु अघि धार्मिक एवं सांस्कृतिक झाँकी सहितकाे र्यालीले करापुटार फाँट परिक्रमा गरेकाे थियाे । स्थानीय महिला समूह, युवा क्लव, विभिन्न  विद्यालयमा अध्ययनरत विद्यार्थीहरू, स्थानीय बसीन्दा, जनप्रतिनिधि सम्मिलित झाँकीले रामबजार हुँदै करापुटार फाँट र इशानेश्वर महादेव मन्दिर परिक्रमा गरेकाे थियाे ।



महाेत्सवकाे पहिलाे दिन गायक अनुज अधिकारी, गायिका ज्याेति लाेहाेनी र गायक घनश्याम रिजाल लगायतका कलाकारहरूले महाेत्सवमा सांगीतिक प्रस्तुति दिएका थिए ।

नेपालकाे दाेस्राे पशुपतिनाथ भनेर चिनिने ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रीमा ठूलाे धार्मिक मेला लग्छ । याे मन्दिर  सन्तानेश्वर महादेवको रुपमा पनि उत्तिकै चर्चित छ । याे मन्दिरमा शिवरात्रीमा ठाडाेबत्ती बालेमा सन्तान नहुनेलाइ सन्तान हुने जनविश्वास छ। यही विश्वासले हजाराैं भक्तजन मन्दिरकाे दर्शन गर्न र बत्ती बाल्न पुग्छन् । नेपालका विभिन्न जिल्ला बाहेक भारतबाट समेत भक्तजन पुग्ने याे मन्दिरकाे देश विदेशमा प्रचार प्रसार गरी धार्मिक पर्यटक भित्राउने उद्देश्यले महाेत्सव गरिएकाे मन्दिर क्षेत्र विकास समितिका सचिव शंकरराज घिमिरेले जानकारी दिए ।



महाेत्सव अन्तरगत फागुन २५ गते महाविशरात्रीकाे पावन अवसरमा धार्मिक प्रवचन समेत हुने र ठाडा बत्ती बाल्ने, बसेर बत्ती बाल्ने त कार्यक्रमका अलवा भजन, चुड्का, ठाडो भाका, बालन लगायतका कार्यक्रम राखिएकाे छ ।यसबाहेक करापुटार रनिङ शिल्ड भलिबल प्रतियोगिता, परम्परागत छेलो प्रतियोगिता महाेत्सवमा राखिएकाे छ । 



महोत्सवमा ब्यापारिक स्टलहरु पनि राखिएका छन् । स्टलहरुमा विभिन्न व्यापारिक सामान, कृषि तथा हस्तकला प्रदर्शनी गरिएकाे छ । महाेत्सव फागुन २९ सम्म चल्ने बताइएकाे छ ।

प्रतिक्रिया