दोर्दीकाे जनमुखी कार्यक्रम, सबै परिवारकाे निःशुल्क स्वास्थ्य बिमा, उद्यमशीलताका लागि शुन्य ब्याजदरमा ऋण

खबरकुञ्ज

बेसीशहर, असार ११ । यतिबेला लमजुङको दोर्दी गाउँपालिकाले जनमुखी नीति कार्यक्रम र बजेट ल्याएको भन्दै वाहवाही पाइरहेको छ । आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम पेश गर्ने क्रममा गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले पालिकाभित्रका सबै परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने लगायतका लोकप्रिय र जनमुखी कार्यक्रम घोषणा गरेपछि पालिका र अध्यक्ष अधिकारीको समेत सर्वत्र प्रशंसा भएको छ ।

लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले गाउँ सभाको १७ औं अधिवेशनमा आगामी आर्थिक बर्षको लागि धेरै लोभलाग्दा कार्यक्रम पेश गरेका छन् ।  सबैको वाहवाही पाउने एउटै कार्यक्रम बन्यो निःशुल्क स्वास्थ्य बिमा । स्वास्थ्य सेवा महंगो भएकाले ठूलै बिरामी परे स्वास्थ्य उपचार गर्न नसकेर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्यका लागि पालिकाको यो कार्यक्रमले दोर्दीका स्थानीयलाई ठूलो राहत दिएको छ । 

दोर्दी गाउँपालिका जलविद्युतको हब पनि हो । यहाँ साना ठूला थुप्रै जलविद्युत आयोजना सञ्चालनमा छन् । तिनै जलविद्युत आयोजनाबाट पालिकालाई प्राप्त हुने रोयल्टीबाट गाउँपालिकाले नागरिकहरुको निःशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेको हो । यसका लागि पालिकाले १ करोड ५० लाख रुपैयाँ बजेट प्रस्ताव गरेको हो । यसका लागि पालिकाले नारा नै बनाएको छ– “जलविद्युतको आम्दानी–स्वास्थ्य बिमामा लगानी ।”

स्वास्थ्य बिमाबाहेक दोर्दीले आगामी आर्थिक बर्षका लागि अरु थुप्रै लोकप्रिय कार्यक्रमको घोषणा गरेको छ । वैदेशिक रोजगारीको प्रवाहले गाउँघरमा युवा जनशक्तिको कमी भइरहेको अवस्थालाई मध्यनजर  गर्दै पालिकाले गाउँपालिकाभित्रै ब्यवसाय सञ्चालन गर्न चाहने उद्यमशील युवाहरुका लागि शुन्य ब्याजदरमा ब्यवसायीक कर्जा उपलब्ध गराउने घोषणा नीति कार्यक्रममार्फत गरिएको छ । यो कार्यक्रमले युवाहरुलाई गाउँमै केही उद्यम गरौं भन्ने भावनाको विकास गराउनुका साथै रित्तिदैं गएका गाउँघरलाई पुनः गुल्जार बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले आगामी बर्षदेखि नागरिकताको प्रमाणपत्र लिनेहरुसंग लिँदै आएको सिफारिस शुल्क पनि निःशुल्क गर्ने घोषणा गरेको छ । हाल पहिलो पटक नागरिकताको सिफारिस लिन आउने सेवाग्राहीसंग २ सय रुपैयाँ शुल्क लिने गरिएकोमा आगामी आर्थिक बर्षदेखि यसलाई निःशुल्क गर्ने घोषणा गरिएको हो । पालिकाले गाउँपालिकालाई कृषि र पर्यटनको हब बनाउन विभिन्न कार्यक्रम ल्याएको छ । अभियानका रुपमा अकबरे खुर्सानीको ब्यवसायीक खेती शुरु गरेको दोर्दीले अकबरेसंगै कफि खेतीलाई समेत ब्यवसायीक बनाउने अठोट लिएको छ । गाउँमा पर्यटन प्रबद्र्धनका लागि विभिन्न कार्यक्रम ल्याइएकोमा होमस्टे प्रबर्द्धनका लागि "एक वडा–एक छाक–एक रात" अभियान सञ्चालन गर्ने पालिकाका उपाध्यक्ष बिच्छ बहादुर घलेले बताए ।

१७ औं गाउँसभाको अधिवेशनमा उपाध्यक्ष घलेले ५७ करोड ६० लाख १६ हजार ७२८ रुपैयाँको बजेट पेश गरेका छन् । 

प्रतिक्रिया