सुन्दरबजार, माघ १७ । स्थानीय तहकाे निर्वाचनकाे झल्काे दिने गरी लमजुङकाे सुन्दरबजारमा खानेपानी उपभाेक्ता समितिकाे निर्वाचन भएकाे छ ।
सुन्दरबजार खानेपानी तथा सरसफाइ समितिको नयाँ कार्य समितिको लागि मंगलबार निर्वाचन भएकाे थियाे ।
निर्वाचनमा कांग्रेस निकट उपभाेक्ताले लाेकतान्त्रिक प्यानल, नेकपा एमाले निकटका उपभाेक्ताले प्रगतिशील प्यानल र राप्रपा निकटका उपभाेक्ताले उन्नतिशील प्यानल बनाएर निर्वाचनमा हाेमिएकामा कांग्रेस निकटकाे लाेकतान्त्रिक प्यानल नै बिजयी भएकाे हाे ।


निर्वाचनपछि गरिएकाे मतगणनाकाे परिणाम अनुसार नेपाली काङ्ग्रेस समर्थित लोकतान्त्रिक समूहका अध्यक्ष उत्तम गुरुङ ५२५ मत पाइ बिजयी भए । उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमाले निकट प्रगतिशील प्यानलका अध्यक्ष पदका उमेदवार भोजबहादुर गुरुङले ३९५ मत र राप्रपा निकट उन्नतिशील प्यानलका कृष्णबहादुर दुराले २३ मत मात्र प्राप्त गरे ।
उपाध्यक्ष पदमा लाेकतान्त्रिक प्यानलका सुवे. रणबहादुर घले ४६८ मत पाइ बिजयी हुँदा प्रगतिशील प्यानलका रामजी भट्टराइले ४१७ मत पाए । सचिवमा लाेकतान्त्रिक प्यानलका नेत्रबहादुर गुरुङले ५१५ मत पाइ बिजयी हुँदा प्रगतिशील प्यानलका शिवजी पाेखरेलले ३६९, कोषाध्यक्ष पदमा लाेकतान्त्रिक प्यानलका तुलाराम गुरुङले ४७३ मत ल्याइ विजयी हुँदा प्रगतिशील प्यानलका सुरेन्द्रलाल श्रेष्ठ ३९९ र सहसचिव पदमा लाेकतान्त्रिक प्यानलका सुकमाया गुरुङले ५७२ मत पाई विजयी हुँदा प्रगतिशील प्यानलका बसन्ती दुराले ४०१ मत प्राप्त गरिन् ।
लाेकतान्त्रिक प्यानलबाट विजयी भएका सदस्यहरूमा सुवे. चन्द्रबहादुर दुराले ४७६ मत, रामकृष्ण कुमालले ४४६ मत, कृष्णप्रसाद पाण्डे ४६२, निर्मला नेपालीले ४५० मत र शारदा भण्डारीले ४५२ मत पाए ।
समितिकाे लेखा सुपरीवेक्षण समितिकाे संयोजकमा लाेकतान्त्रिक प्यानलकै सुरेन्द्रप्रसाद पौडेलले ४५३ मत पाइ विजयी भए । अर्का प्रत्यासी प्रगतिशील प्यानलका खेमबहादुर गुरूङले ३७७ मत पाएका थिए ।
निर्वाचनका लागि १ हजार ३ सय ४९ मतदाता रहेकामा कूल ९८३ मत मात्र खसेको थियो।
खानेपानी उपभाेक्ता समिति जस्ताे बिशुद्ध सामाजिक संस्थामा सबै दल मिलेर सर्वसम्मतिले समिति चयन गरी सुन्दरबजारमा खानेपानीकाे श्राेत बढाइ चाैविसैघण्टा शुद्ध खानेपानी वितरणकाे ब्यवस्था गर्नु पर्नेमा स्थानीय निर्वाचनकै झल्काे दिने गरी अस्वस्थ प्रतिस्पर्धाका साथ निर्वाचनमा सहभागी भएकाे भन्दै उपभाेक्ताहरूले राजनीतिक दलहरूकाे आलाेचना गरेका छन् ।