ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईले दिए सीआइबीलाइ बयान

मिलन शर्मा दनाई

काठमाडौं ।  ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले  पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपापाल र डा. बाबुराम भट्टराईकाे बयान लिएकाे छ ।

सीआईबीले एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपाल र नेसपाका अध्यक्ष डा. भट्टराइसंग गएराती बयान लिएको हाे ।

माधव नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने र बाहिरको जग्गा पर्खालभित्र पार्दा त्यहाँका मोहीलाई सट्टा भर्नामा जग्गा दिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन हुँदा प्रधानमन्त्री निवासमा २७ रोपनी ७ आना २ पैसा १ दाम जग्गा थपिनुपर्नेमा मन्त्रिपरिषदले नै सरकारी जग्गामा हुँदै नभएको मोही खडा गरेर उनीहरुलाई अन्यत्र व्यवस्थापन गर्ने भनी निर्णय गरी बालुवाटारभित्र थपिनुपर्ने जग्गाको करिब आधा हिस्सा मोहीका नाममा सारेर ‘भूमाफिया’को कब्जामा गएको अनुसन्धानमा खुले पछि यस बिषयमा पूर्व प्रधानमन्त्री नेपालकाे बयान लिइएकाे हाे ।

त्यस्तै डा. भट्टराइ प्रधानमन्त्री हुँदा २०६९ माघ ५ मा मालपोत कार्यालय, डिल्लीबजारले ललिता निवासभित्र रहेको ६० आना जग्गा पशुपति टिकिन्छा गुठीका नाममा दर्ता गर्ने निर्णय गरेको थियो । डा. भट्टराई नेतृत्वको तत्कालीन मन्त्रिपरिषदले यसमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो ।

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाल र डा. बाबुराम भट्टराईसमेत जाेडिएकाे अनुसन्धानका क्रममा खुले पनि उनीहरूकाे बयान सिअाइबीले लिएकाे थिएन । उनीहरुलाई उन्मुक्ति दिन खोजिएको भन्दै आलोचना भइरहेका बेला सर्वोच्च अदालतले गत साउन २१ गते मन्त्रिपरिषदको निर्णय तथा कार्य प्रमाणित गरी कार्यान्वयन गर्ने तहमा संलग्नहरुमाथि समेत अनुसन्धान गर्न आदेश दिएको थियो । जस अनुसार दुवै पूर्वप्रधानमन्त्रीहरूसंग पनि बयान लिने बाटाे खुलेकाे हाे ।

डा. भट्टराईले हिजाे राती सिअाइबीका अधिकारीहरूलाइ निवासमा बाेलाएर आफूबारे उठेको प्रश्नहरूकाे जवाफ दिएकाे सामाजिक सञ्जालमा लेखेका छन् । 

ललितानिवासको जग्गा हत्याउन भूमाफियाहरुले नक्कली गुठी खडा गरेर त्यसमा फर्जी मोही राखेर सरकारी जग्गा व्यक्तिको नाममा सारेको र २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी ललितानिवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया