बेसीशहर, जेठ २ गते । उत्तरी लमजुङका बासीन्दा र माथिल्लो मस्र्याङदी ए जलविद्युत आयोजनाको प्रबद्र्धक सिनो हाइड्रो सगरमथा पावर कम्पनी लि.काबीचको विवाद सुल्झने संकेत देखिएको छ ।
आयोजनाको प्रभावित क्षेत्र मस्र्याङदी गाउँपालिकाको वडा नंं ३, ६, ७ र ८ का बासीन्दाले राखेका माग मुख्य माग सम्बोधन गर्न आयोजनाको प्रबद्र्धक कम्पनी सिनो हाइड्रो तयार भएपछि लामो समयदेखि कायम विवाद सुल्झने संकेत देखिएको हो ।
आयोजना प्रभावित क्षेत्रका बासीन्दाले धेरै समय अघिदेखि नै माथिल्लो मस्र्याङदी २ जलविद्युत आयोजनामा स्थानीय सरकार तथा समन्वय समिति मार्फत विभिन्न मागहरु राखेकोमा ती मध्ये जल्गिनी देखि अर्खलेबेसीसम्मको सडकको स्तरोन्नतिलाई प्रमुख मुद्दा बनाइएको छ ।
उक्त सडक उपभोग गर्दै सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले ५० मेगावाटको माथिल्लो मस्र्याङदी जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी हाल विद्युत उत्पादन गरिरहेको छ । तर सडकको स्तरोन्नतिमा कम्पनीले चासो नदिएको भन्दै स्थानीयले आयोजनाको कार्यालयमा तालाबन्दी गरी बाँध खोलिदिने चेतावनी दिएपछि सिनो हाइड्रो स्थानीयका प्रमुख माग पुरा गर्न सहमत भएको हो ।
कम्पनीले पटक पटक सडकको स्तरोन्नति गरिदिने मौखिक आश्वासन दिए पनि लामो समय सम्म पनि सडक स्तरोन्नतिमा कुनै चासो नदिएको भन्दै गत बैशाख ३ गते संघर्ष समिति गठन गरी स्थानीयले आन्दोलन गर्दै आएका थिए ।
संघर्ष समितिले मस्र्याङदी नदीमा १० प्रतिशत पानी अनिवार्य रुपमा छोड्न र जल्गेनीदेखि अर्खलेबेसी सम्मको सडक स्तरोन्नति, स्थानीय बासीन्दालाइ १० प्रतिशत शेयर, स्थानीय युवाहरूलाइ रोजगारी, लगायतका विभिन्न विषय समावेश गरी सिनो हाइड्रो सगरमाथा पावर कम्पनीमा मागपत्र पेश गरेको थियो ।
आयोजनाले स्थानीयको माग अनुसार नदीमा १० प्रतिशत पानी छोड्ने माग सम्बोधन गरेको र मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको रोहबरमा सडकको स्तरोन्नतिका लागि २ करोड ५० लाख रुपैयाँ कम्पनीको तर्फबाट उपलब्ध गराउन सहमति जनाएको संघर्ष समितिका सदस्य सचिव लोकनाथ घिमिरेले बताए ।
संघर्ष समितिले आन्दोलनको दोस्रो चरणमा गत बैशाख २५ गतेदेखि माथिल्लो मस्र्याङदी २ को प्रबद्र्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लि.का सवारी साधनहरु सञ्चालन हुन समेत दिएको थिएन । माग सम्बोधन नभएपछि गत बैशाख २५ गते विशाल जनप्रदर्शन गरी कम्पनीको कार्यालयमा तालाबन्दी गर्ने र त्यसो गर्दा समेत माग सम्बोधन नभए आयोजनाको बाँध खोली विद्युत उत्पादन बन्द गर्ने चेतावनी दिए पछि आयोजना सडकको स्तरोन्नतिका लागि लगानी गर्न सहमत भएको हो ।
यद्यपी सिनो हाइड्रोले उक्त सहयोगका लागि विभिन्न शर्त राखेको छ । उसले सडकको स्तरोन्नतिका लागि ४ किस्ता गरी रकम उपलब्ध गराउने बताएको छ । पहिलो किस्तामा ८० लाख आउँदो जनवरी सम्म, दोस्रो किस्ता ७० लाख सन् २०२५ को जुलाई सम्म, तेस्रो किस्ता ८० लाख सन् २०२६ को जुलाईसम्म र अन्तिम किस्ता सन् २०२८ को जनवरीसम्म उपलब्ध गराउने शर्त राखेको छ । उसले उक्त सडक स्तरोन्नतिका लागि मस्र्याङदी गाउँपालिकाले न्यूनतम १ करोड निकासा गर्नुपर्ने शर्त पनि राखेको छ ।
यसबाहेक सडकको स्टेमेट, ठेक्का आह्वान र निर्माणको सबै जिम्मा मस्र्याङदी गाउँपालिकाले लिनुपर्ने शर्त पनि छ । त्यस्तै संघर्ष समितिले आयोजनाका विरुद्ध कुनै नराम्रो गतिविधि गर्न नपाउने शर्त पनि उसले राखेको छ । यसबाहेक उप्रान्त स्थानीय समुदायबाट कुनै प्रकारको मागपत्र पेश गर्न नपाउने शर्त पनि उसको छ ।
मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको रोहबरमा भएको छलफलमा सिनो हाइड्रो,संघर्ष समिति, सरोकार समितिका प्रतिनिधिहरु सहभागी थिए । सहमति पत्र तयार भए पनि हस्ताक्षर भने भइसकेको छैन । माग पुरा गर्ने भएपछि स्थानीयकाे संघर्ष पनि स्थगित भएकाे छ ।