बेसीशहरमा लमजुङ तारा एकल गायन प्रतियोगिता हुने

खबरकुञ्ज

बेसीशहर, जेठ ११ । लोक तथा दोहोरी गीतको संरक्षणका लागि लमजुङ सदरमुकाम बेसीशहरमा लमजुङ तारा एकल गायन प्रतियोगिता आयोजना गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्य समिति लमजुङले विश्व संगीत दिवसको अवसर पारेर यही जेठ २४ गते प्रतियोगिताको आयोजना गरेको हो । लोकगीतको संरक्षण र नवप्रतिभाको खोजी स्वरुप प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठान  लमजुङका अध्यक्ष अनुज अधिकारीले बताए । प्रतिष्ठानको यही जेठ ७ गते बसेको वैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो ।


प्रतियोगितामा विजयी हुने प्रतिभाहरुलाई आकर्षक पुरस्कारको ब्यवस्था समेत गरिएको छ । अध्यक्ष अधिकारीका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार पदक र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्ने दुई जनालाई नगद ५÷५ हजार रुपैयाँका साथमा ट्रफी पदक र प्रमाण पत्र दिइने छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान लमजुङका सचिव प्रशान्त तामाङले जिल्लाका कुना कन्दरामा लुकेर रहेका प्रतिभाहरूको पहिचान गर्न प्रतियोगिता कोशे ढुंगा बन्ने अपेक्षा गरिएको बताए । लोक दोहोरी, कला संस्कृति र साहित्यको धनी जिल्ला लमजुङका गाउँ गाउँमा लुकेका प्रतिभाहरुको फुल्ने चौतारीको रुपमा प्रतियोगितालाई लिइएको उनले बताए ।

प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सल्लाहकार एवंं वरिष्ठ लोक गायिका मायाँ गुरुङ, सल्लाहाकार रेशमलाल श्रेष्ठ, द्वितीय उपाध्यक्ष पूजा परियार शेर्पा, सचिव प्रशान्त तामाङ, सह–कोषाध्यक्ष लक्ष्मी तामाङसहित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । 

प्रतिक्रिया