काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन् ।
थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
थापाले आफ्नो दलका २९, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य र सभामुख बाबुराम गौतमसमेतको आफूलाई समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
बिहीबार बिहान बसेको सत्ता साझेदार ७ दलको बैठकले कोशी प्रदेशमा सकारको दाबी गर्दा सभामुखको सहित हस्ताक्षर बुझाउन प्रदेशका गठबन्धन दलहरूलाई निर्देशन दिएका थिए।
यसै अनुसार प्रदेश प्रमुखले उनलाई मुख्यन्त्री नियुक्त गरेका हुन् । उनी मुख्यमन्त्री नियुक्त नहुँदै एमालेले सभामुखलाई सरकार गठन कार्यमा सहभागी गराउन नहुने भन्दै प्रदेश प्रमुखलाई सचेत गराएको थियो । तर प्रदेश प्रमुखले यसलाई वेवास्ता गर्दै सभामुख गौतमसमेतको समर्थनमा थापालाई मुख्यमन्त्री नियुक्त गरे ।
यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कोशी प्रदेशमा सरकार निमाणर् गर्दा विधि र पद्धति मिचिएको भन्दै विरोध जनाएका छन् ।
कोइरालाले सभामुख आफैंले हस्ताक्षर गरेर सरकार गठन गर्नु संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्तविपरीत भएको बताएका हुन् । फेसबुमा लेख्दै डा कोइरालालेप्रदेश संसदको सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरेर पठाउने कुराको संवैधानिक व्याख्या नभए पनि यसो गर्नु संसदीय मान्यताविपरीत हुने बताएका छन् ।