बेसीशहर, फागुन १८ । पालिकाभित्र उत्पादन हुने रैथाने बालीको बजारीकरणका लागि लमजुङकाे मर्स्याङदी गाउँपालकिाले पहल शुरू गरेकाे छ ।
जैविक बिबिधतामा धनी रहेको मर्स्याङदी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने अत्याधिक पोषणयुक्त रैथाने बालीहरुको प्रबर्द्धनका लागि विभिन्न संघसंस्थासंगको सहकार्यमा काठमाडौंमा प्रदर्शनी र विक्री गर्न लागेको हो ।
काठमाडौं लगायत देशका शहरी क्षेत्रमा गाउँघरमा उत्पादन हुने रैथाने बालीहरुको माग उच्च छ । लमजुङको मर्स्याङदी गाउँपालिकामा रैथाने बालीहरुको राम्रो उत्पादन हुने गर्दछ । तर ग्रामीण क्षेत्रका किसानले आफूकहाँ उत्पादित बालीहरु बजारसम्म पुर्याउन नसक्दा आम्दानी गर्न नसकिरहेको अवस्थामा किसानहरुलाई प्रोत्साहन गर्न र उनीहरुको उत्पादनलाई बजारसम्म पुर्याउन मद्दत गर्ने उद्देश्यले काठमाडौंमा यस्ता रैथाने बालीको प्रदर्शनी गर्न लागिएको मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।
उनले भने-“हाम्राे गाउँपालिकामा कागुनो खेतीका लागि घनपोखरा, आलु खेतीका लागि जिम्दो र भुस्मे, अलैंची खेतीका लागि छिनखोला, ताराचोक प्रसिद्ध छन् । यसबाहेक ताघ्रिङ क्षेत्रमा बोडी, भट्टमासको राम्रो खेती हुन्छ । यी अर्गानिक रैथाने बालीलाई काठमाडौंसम्म पुर्याएर बजारीकरणमा सहयोग गर्न लागिएको हो ।”

“काठमाडौं, पोखरा लगायतका शहरमा मात्र होइन, विदेशमा समेत रैथाने बालीको ठूलो महत्व र माग छ । यहाँ उत्पादन भएका रैथाने कृषि उपज दिनहुुँ सेवन गर्नका लागि देश विदेशका मनिसहरु लालयित हुन्छन् तर हाम्रा कृषि उपजहरु घरघरमा मात्र सिमित छन् र उपलब्धता न्यून छ । त्यसैले गाउँपालिका भित्र उत्पादित कृषि उपजलाइ काठमाडौ र बाहिरको बजार सम्म पुर्याउन हाम्रा उत्पादनको प्रचारप्रसार र वजारीकरणको गर्नका लागि हाटबजारमा सहभागी हुन लागिएको हो ।”- अध्यक्ष गुरुङले भने ।

काठमाडौंको दरवारमार्गमा प्रत्यक शनिवार यस्तै रैथाने बालीहरुको हाटवजार चल्ने गर्छ । हाटबजारमा सहभागी भएर यहाँका कृषि उपजहरुको प्रदर्शनी गर्ने र रैथाने बालीको संरक्षण, उत्पादन र बजारीकरणमा केन्द्रीत भइ छलफल र अन्तरक्रिया समेत हुने पालिका अध्यक्ष गुरुङले बताए ।
मर्स्याङदी गाउँपालिका कृषि शाखाका प्रमुख तिलक कटेलका अनुसार फागुन १९ गते शनिबार पालिकाका रैथाने बालीहरुको प्रदर्शनी गरिने छ । प्रदर्शनीमा कागुनो, सामा, आलु, बोडी, कालो भट्ट, आँगाको चामल, रातो धानको चामल, रातो मास, सीमी, अनादीको चामल, जस्ता रैथाने बाली प्रदर्शन गर्ने सोच राखिएको छ । यसका लागि किसानहरुलाई आफूहरुसंग रहेका रैथाने बालीका उत्पादन उपलब्ध गराइदिन आग्रह गरिएको छ । यद्यपी कतिपय रैथाने बालीहरु आइपुग्न नसकेको उनले बताए ।
संघ, प्रदेश र स्थानीय सरकारले उत्पादनमा मात्र जोड दिएका छन् । किसानहरुलाई विउबिजन, मल, प्रशोधनमा फोकस गर्न सकेका छैनन् । किसानले कृषि उपज उत्पादन गरे पनि बजारीकरणमा कतैबाट सहयोग छैन । उत्पादित कृषि उपजको विक्री नहुँदा किसानहरु निराश भइरहेको परिप्रेक्ष्यमा मर्स्याङदी गाउँपालिकाले बजारीकरणका लागि गरेको प्रयासको सरहना गरिएको छ ।
यस किसिमको प्रदर्शनीले किसानलाई उत्प्रेरण मिल्नुका साथै कृषि विकासको खाका तयार गर्न सकिने अपेक्षा राखिएको कृषि शाखा प्रमुख कटेलले बताए ।
29 Feb 2024
मिलन शर्मा दनाई