बेसीशहर, माघ ३ गते । यही माघ ५ र ६ गते लमजुङ सदरमुकाम बेसीशहरमा हुन गइरहेको लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठकको पूर्वसन्ध्यामा बेसीशहर बजारमा बृहत सरसफाई अभियान सञ्चालन गरिएकोे छ ।
लमजुङमा रहेका विभिन्न लायन्स क्लवहरुको संयुक्त तत्वावधानमा नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी तथा स्थानीयबासीसमेतको सहभागितामा बेसीशहर बजारमा सरसफाई गरिएको हो ।
यही माघ ५ र ६ गते बेसीशहरमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठकका लागि देशका विभिन्न भागमा रहेका एकसय ९२ क्लवका पदाधिकारीहरु बेसीशहरमा भेला हुँदैछन् । उक्त भब्य कार्यक्रमको तयारी करीब करिब पूरा भएको लायन्स क्लब अफ लमजुंग टुगेदर वी क्यानका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका रिजन चेयरपर्सन पायल शर्मा दनाईले बताइन् ।
कार्यक्रमको उद्घाटन सत्र सदरमुकाम बेसीशहरको फुलबारी मञ्चमा हुने र कार्यक्रमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका एक हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।
बैठकलाई भब्य रुपमा सफल पार्नका लागि लायन्स क्लब अफ लमजुंग बेशिशहरका संस्थापक अध्यक्ष सुरेशकुमार प्रधानको संयोजकत्वमा १४ वटा उप–समितिहरू गठन गरिएको छ । सबै उपसमितिले जिम्मेवारी अनुसारको तयारी पुरा गरेका बताइएको छ ।
क्याविनेट वैठकलाई भब्य एवं सभ्य रुपमा सम्पन्न गर्न सुरेशकुमार प्रधानको संयोजकत्वमा आर्थिक, सरिता सापकोटाको संयोजकत्वमा अतिथि सत्कार, विजय घिमिरेको संयोजकत्वमा मञ्च÷गेट र टेण्ट ब्यवस्थापन, शोभा ठकुरीको संयोजकत्वमा रजिष्ट्रेशन, सरोज शर्माको संयोजकत्वमा खाना खाजा एवं आवास ब्यवस्थापन, बुना रिमालको संयोजकत्वमा स्थानीय तह संयोजन, किसान संगीतको संयोजकत्वमा प्रचार प्रसार एवं स्मारिका प्रकाशन, त्रिलोकचन्द्र गुरुङको संयोजकत्वमा हेल्थ डेस्क, पार्वती श्रेष्ठको संयोजकत्वमा झाँकी तथा सांस्कृतिक ब्यवस्थापन, सबनम मियाको संयोजकत्वमा खानेपानी, गणेशमान श्रेष्ठको संयोजकत्वमा पार्किङ ब्यवस्थापन, सुगम देउजाको संयोजकत्वमा स्वयंसेवक परिचालन, प्रमोद अधिकारीको संयोजकत्वमा मल्टिमिडिया ब्यवस्थापन र लक्ष्मण न्यौपानेको संयोजकत्वमा किटब्याग ब्यवस्थापन उपसमिति गठन गरिएको थियो ।
कार्यक्रममा सहभागी हुन आउने अतिथिहरुका लागि बेसीशहरका विभिन्न होटलका साथै बेसीशहर वरपरका होमस्टेहरुमा ब्यवस्था मिलाइएको अतिथि सत्कार उपसमितिका संयोजक सरिता बोहोराले बताइन् । दुईदिन चल्ने वैठकलाई लक्षित गरी जिल्लामा उत्पादित स्थानीय विभिन्न बस्तुहरूको स्टल समेत राखिने भएको छ ।
पर्यटकीय जिल्लाको रुपमा रहेको लमजुङको पर्यटन प्रवद्र्धनका लागि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । लमजुङ जिल्लाको ऐतिहासिकता र पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसारका लागि समेत वैठक फलदायी हुने विश्वास लिइएको लायन्स क्लव अफ लमजुङ टुगेदर वी क्यानका अध्यक्ष शोभा ठकुरीले बताइन् ।
उक्त क्याबिनेट वैठकका लागि लायन्स क्लब अफ लमजुङ बेसीशहर, लायन्स क्लब अफ लमजुङ, टुगेदर वि क्यान, लायन्स क्लब अफ लमजुङ, लमजुङ दरबार र लायन्स क्लब अफ लमजुङ, लमजुङ ग्लोवल सिटीले संयुक्त रुपमा व्यवस्थापन गरिरहेका छन् ।
कल्पना शर्मा दनाई