बेसीशहर, माघ २२ गते । कालिका सहकारी प्रकरणमा प्रहरीकाे फरार सूचिमा रहेकी अर्की अभियुक्त तैमाया गुरूङ जिल्ला अदालतमा उपस्थित भइ तारेखमा छुटेकाे केही क्षणमा पुनः पक्राउ परेकी छन् ।
लमजुङ प्रहरीले गत मंसिर तेस्राे साता पक्राउ पूर्जी जारी गरेपछि फरार भएकी तैमाया साेमबार जिल्ला अदालतमा बयानका लागि उपस्थित भएकी थिइन् । जिल्ला न्यायाधीश कृष्णप्रसाद पाैडेलकाे इजलासले उनलाइ दुइलाख ५० हजार रूपैयाँ धराैटी माग गरेकाेमा उनी साे धराैटी बुझाएर रिहा भएकी थिइन् ।
तर धराैटी रकम बुझाएर अदालत बाहिर निस्कनासाथ उनी पुनः पक्राउ परेकी हुन् । उनीबिरूद्ध गैरकानुनी रूपमा अकुत सम्पती कमाएकाे भनि सम्पती सुद्धिकरण विभागमा समेत मुद्दा परेकाे छ । साेही मुद्दाका सिलसिलामा उनलाइ प्रहरीले जिल्ला अदालतकाे गेटबाट पक्राउ गरेकाे बुझिएकाे छ । उनलाइ साेमबार हिरासतमा राखेर मंगलबार सम्पती सुद्धिकरण विभागमा पठाइने जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ ।
पक्राउ परेकी गुरूङ कालिका सहकारी एकीकरण पुर्व साविक सम्पदा सहकारीको संचालक समिति सदस्य र एकीकरण पश्चात बनेको सहकारीकाे महिला समितिकाे सदस्य थिइन् । उनले संस्थामा राखेकाे बचत फिर्ता नपाएकाे भन्दै प्रहरीमा संस्थाका वर्तमान र पूर्व गरी ८ जना सञ्चालक बिरूद्ध प्रहरीमा जाहेरी समेत दिएकी थिइन् । तर कालिका सहकारीका अन्य बचतकर्ताले उनी विरूद्धसमेत जाहेरी दिए पछि प्रहरीले उनी विरूद्धसमेत पक्राउ पूर्जी जारी गरेकाे थियाे । प्रहरीले पुर्जी जारी गरे लगतै उनी फारार भएकी थिइन् ।
कालिका सहकारीले सहज रूपमा बचत फिर्ता गर्न नसकेपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले विज्ञ खटाई संस्थाकाे बित्तीय बिश्लेषणसहित छानवीन गरेको थियो । उक्त छानवीनकाे प्रतिवेदनमा तैमाया गुरूङले सहकारीमा जम्मा गरेकाे रकमकाे श्राेत नखुलेकाे देखिएकाले उनलाइ सम्पती सुद्धिकरण विभागमार्फत मुद्दा चलाउने राय ब्यक्त भएकाे थियाे । साेही अनुसार प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराेले उनलाइ सम्पती सुद्धिकरण विभागमा मुद्दा दायर गरेपछि बयानका लागि उनलाइ प्रहरीले पक्राउ गरेकाे बुझिएकाे छ ।
साे सहकारी सम्बद्ध अन्य दुइजना बिरूद्धसमेत सम्पती सुद्धिकरण सम्बन्धी मुद्दा परेकाेमा उनीहरू धराैटीमा रिहा भइसकेका छन् ।