काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको आज एक वर्ष पूरा भएको छ ।
एक वर्षको अवधिमा जनताबाट पाएको उत्साहजनक समर्थन, साथ र सहयोगका लागी रास्वपाले कृतज्ञता जाहेर गरेको छ । पार्टी स्थापनाको अवसरमा आज रास्वपाले पार्टीमा आबद्ध सम्पूर्ण सदस्यहरूलाई पार्टी स्थापना दिवसको शुभकामना ब्यक्त गरेको छ ।
यस अवसरमा रास्वपाले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरु सहभागी भएका छन् ।
काठमाडौंको बालाजुस्थित कार्यालयमा भएको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरु पुगेका छन् ।
रास्वपाले स्थापना दिबसको अवसरमा आज साँझ ७ बजे सातै प्रदेश र ७७ जिल्लामा एकसाथ ७७ पटक घण्टी बजाउने कार्यक्रम तय गरेको छ । नागरिकहरूलाइ आफ्नो घरमा, मन्दिरमा, आफू काम गर्ने कार्यालयमा घन्टी बजाएर यो यात्रामा ऐक्यबद्धता जनाउन रास्वपाले अनुरोध गरेको छ । रास्वपाले घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा #bajyoghanti, #abaduitihai राखेर पोस्ट गर्न अनुरोध गरेको छ ।
यस अवसरमा रास्वपा लमजुङले लमजुङ सदरमुकाम बेसीशहरको भीमसेनस्थानमा बेलुकी ७ बजे घण्टी बजाउने कार्यक्रम राखेको छ ।