लमजुङसहित कास्की र नवलपुरमा सुरूङमार्गकाे सम्भाब्यता अध्ययन हुँदैछः मुख्यमन्त्री पाण्डे

बेसीशहर - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  प्रदेशका विभिन्न जिल्लालाइ प्रदेश राजधानी पाेखरासंग छिटाे छरिताे जाेड्न विभिन्न जिल्लामा सुरूङमार्गकाे सम्भाब्यता अध्ययन गर्न लागिएकाे बताएका छन् ।

लमजुङ सदरमुकाम बेसीशहरमा नेपाली कांग्रेस लमजुङकाे पार्टी कार्यालय वि.पी.स्मृति भवनकाे शिलन्यासका क्रममा मुख्यमन्त्री पाण्डेले लमजुङ,नवलपरासी लगायतका जिल्लाबाट सिधै पाेखरा जाेड्न सुरूङ मार्गकाे अध्ययन गर्न लागिएकाे जानकारी दिएका हुन् । मुख्यमन्त्री पाण्डेले भने– "हाम्रा पहाडी भूभाग र बाटाेकाे भूगाेल हेर्दा डाँडाकाँडा चढ्ने फेरी झर्ने यस्ताे अवस्थाकाे हाम्राे भूगाेल छ । त्यसैले केही, जसले पाेखरालाइ जाेड्छ,पाेखरा भनेकाे प्रदेशकाे राजधानी हाे । त्याे राजधानीलाइ जाेड्ने जिल्लाहरूबाट जाेडिने पहाडी मार्गहरूमा सुरूङ मार्ग बनाउन हामी सम्भाब्यता अध्ययन गर्छाैं ।"

उनले लमजुङ सदरमुकाम बेसीशहरकाे सित्तलपाटीबाट सुरूङ बनाएर रामबजार जाेड्ने सुरूङमार्ग, कास्कीकाे हेम्जाबाट नयाँपुल जाेड्ने सुरूङमार्ग र नवलपुरबाट तनहूँ जाेड्न सुरूङमार्गकाे अध्ययन गर्न लागिएकाे जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले यस पटक जनतामा उत्साह ल्याउने खालकाे बजेट अाउन नसक्ने प्रष्ट पारे । यद्यपी सीमित श्राेत साधनलाइ अधिकतम सदुपयाेग गरी प्रदेशकाे पूर्वाधार विकास र सामाजिक दायित्वलाइ पुरा गर्न अाफू प्रयासरत रहेकाे उनले सुनाए । 

नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पाण्डेले भने– "म अाजकाे दिनमा यति भन्न सक्छु, एउटा कांग्रेसकाे कार्यकर्ताकाे हैसियतमा गण्डकी प्रदेशकाे नेतृत्व गरिरहँदा तपाइँहरूकाे शीर कति उच्च पार्न सक्छु भन्न सक्दिन, तर कुनै पनि कांग्रेसका कार्यकर्ताकाे शीर झुक्न दिन्न ।"

अहिले नेपाली कांग्रेसलाइ चाैतर्फी घेराबन्दीमा पार्ने प्रयत्न भइरहेकाेले यसकाे सामना गर्न सबै नेता कार्यकर्ता एकजुट भएर गर्नु पर्ने उनले बताए । याे कठीन परिस्थितिमा पनि ब्यक्तिगत तृष्णा र अाकांक्षालाइ अगाडी बढाएर एक अापसमा बेमेलेकाे अवस्था सृजना गर्ने हाे भने पार्टीलाइ जीवन्त राख्न र पार्टी लक्ष्यमा पुग्न नसकिने उनले बताए ।

मुख्यमन्त्री पाण्डेले कुनैपनि विकास निर्माणका योजना पहुँचको आधारमा नभइ आवश्यकता हेरेर छनोट गरी, सोहि अनुसार बजेट विनियोजन हुनुपर्नेमा जाेड दिए । 

मुख्यमन्त्री पाण्डेले लमजुङबाट गण्डकी प्रदेश सरकारमा कांग्रेसका चारजना सांसदले चार थरी योजना माग्नु भन्दा सबै सांसद र पार्टीले निश्चित योजना छनौट गरी माग गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिका सह महामन्त्री एवं मध्यनेपाल नगरपालिका मेयर रमेश पाण्डे, गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेल, पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, पूर्व सभापति एवं सुन्दरवजार नगरपालिकाका मेयर कृष्ण कोईराला, पूर्व कार्यबहाक सभापति एवं संविधान सभा सदस्य चन्द्रबहादुर कुँवर, महिला संघकी पूर्व अध्यक्ष सानुमाया गुरूङ लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम नेपाली काँग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङको अध्यक्षतामा भएको थियाे ।

प्रतिक्रिया