पर्यटन देशकै समृद्धिकाे आधार हाेः उपमहासचिव गुरूङ

मिलन शर्मा दनाई

बेसीशहर, जेठ २४ । नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारसँगै रैथाने वालीको परिकारमा जोड दिएका छन् । 

लमजुङ दर्पण दैनिकको ११ औं बार्षिकउत्सवका अवसरमा आयोजित पर्यटनबाट लमजुङको समृद्धि विषयक बहसमा बिहीबार प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता गुरुङले पर्यटन लमजुङको मात्र नभइ देशकै समृद्धिको आधार रहेको चर्चा गरे । आफू विगतमा संस्कृति, पर्यटन र नागरिक उड्ययन मन्त्री र गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा र हुँदा लमजुङ र समग्र देशकै पर्यटनका लागि धेरै काम गरेको स्मरण गर्दै उनले लमजुङका हरेक गाउँहरु पर्यटनको हब बन्न सक्ने बताए ।

उनले देशमा पर्यटन आगमनको संख्या बढाउन पोखरालगायतका अन्तराष्ट्रिय विमानस्थालहरु सञ्चालनमा ल्याउनुपर्ने धारणा राखे । पर्यटन प्रबद्र्धनका लागि प्रचार प्रसारको उतिकै महत्व रहेकाले सञ्चार माध्यमहरुले पर्यटकीय क्षेत्रका बारेमा प्रचार प्रसार गर्न कुनै कसर बाँकी नराख्न अनुरोध गरे ।


गुरुङले स्थानीय तह र जनप्रतिनिधिहरुलाई सशक्त बनाउन सञ्चारमाध्यमले भूमिका खेल्नु पर्ने पनि बताए । उनले स्थानीय सरकारलाई सरकार जस्तो बनाउन मिडियाले पनि भूमिका खेल्नुपर्ने बताए । उनले स्थानीय निकायमा विभिन्न विकृति विसंगतिहरु देखिएका भन्दै तिनलाई मिडयाले बाहिर ल्याएर जनप्रतिनिधिहरुलाई सच्चिन दबाब दिनुपर्ने बताए ।

 गुरुङले अहिले सञ्चार माध्यमहरु आर्थिक संकटमा परेका भन्दै स्थानीय सरकारले मिडियाहरुलाई सहयोग गर्नुपर्ने धारणा राखे । यसका लागि स्थानीय सरकारहरुले आफ्नो पालिकाको प्रोफाइल, डकुमेन्ट्री र सचेतनाका कार्यक्रम गर्न र यसका लागि सञ्चार माध्यम र पत्रकारहरुको सहयोग लिन सके सञ्चार माध्यमको संरक्षण र विकास हुने र पालिकाको राम्रो कामको प्रचार दुवै हुुने बताए ।

गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहेका गुरुङले जन प्रतिनिधिहरुको कार्यशैली समय सापेक्ष नरहेकाले स्थानीय सरकारले जति काम गर्नुपर्ने हो त्यति गर्न नसकेको बताए । स्थानीय निकाय आफै सरकार भए पनि कार्यशैलै र ब्यवहार सरकारको जस्तो नभएको उनले टिप्पणी गरे । 

स्थानीय सरकारलाई आफूले सुरुदेखि दुईवटा काम गर्न सुझाव दिएको स्मरण गर्दै उनले विपद् कोष बनाउनर गरेका राम्रा कामको प्रचार गर्न पुनः सुझाव दिए । उनले बजेट आउनुभन्दा अगाडी नीति तथा कार्यक्रम ल्याउन र नीति तथा कार्यक्रम अघि बजेटका सिद्दान्त र प्राथमिकता प्रस्तुत गर्न सुझाव दिए ।

 गण्डकी प्रदेशसभा सदस्य यशोदा रिमालले लमजुङ पर्यटनको हिसावले निकै सम्भावना रहेको जिल्ला हो भन्दै यहाँको पर्यटनको विकास र प्रवद्र्धनमा मिडियाले सकरात्मक भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।


   बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले पर्यटनको पूर्वाधार विकासमा नगरपालिकाले सक्दो प्रयास गरेको दावी गरे । लमजुङ दर्पण दैनिकका प्रकाशक कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारी, नेकपा माओवादी केन्द्र लमजुङका सचिव सुनिल सुनार, सहायक प्रमुख जिल्ला अधिकारी गोकणर्राज सुयल, ग्रामीण पर्यटन ब्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेम घल, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारी लगायतले पर्यटन क्षेत्रको विकास र प्रचारमा मिडियाको सकरात्मक भूमिका रहेको चर्चा गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य किसान संगीत नेपालीले लमजुङको सम्वृद्धीका लागि पर्यटन विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

साे अबसरमा समाज रुपान्तरणका लागि पर्यटन, विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेलेकामा क्व्होलासोंथर गाउँपालिकाका पूर्व अध्यक्ष  प्रेमबहादुर घले र बेसीशहर-२ घरभई हाल भक्तपुर बालकोट निवासी विष्णु बुढाथोकीलाई सम्मान गरिएकाे थियाे ।

प्रतिक्रिया