लमजुङकाे विद्युत समस्यामा रास्वपाले गरायाे उर्जा मन्त्रालयको समेत ध्यानाकर्षण

बेसीशहर। उपभोक्तालाई हैरान बनाएको लमजुङको विद्युत अनियमितताको विषयलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङले उर्जा मन्त्रालयको समेत ध्यानाकर्षण गराएको छ ।

विगत केही समययता सिंगो लमजुङभर विद्युत आपूर्तिमा अनियमिता हुँदा सेवाग्राहीलाई मर्का परेको विषयमा मंगलबार नेपाल विद्युत प्राधिकरण, लमजुङ वितरण केन्द्रमा पुगी ध्यानाकर्षण गराएको रास्वपाले बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित मन्त्रालय र विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।

बुधवार रास्वपा लमजुङका सहसंयोजक अशोक सापकोटाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय लमजुङमा पुगेको रास्वपाको प्रतिनिधि मण्डलले निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सुवेदीमार्फत उर्जा मन्त्री र विद्युत प्राधिकरणलाई ज्ञापन पत्र बुझाएको हो ।

रास्वपा लमजुङले ज्ञापनपत्रमा दर्जनौं विद्युत आयोजना निर्माण भएर राष्ट्रिय प्रसारणमा योगदान दिने लमजुङ जिल्लाका उपभोक्ताहरु नै विद्युत सेवाबाट आजित हुनुपरेको भन्दै तत्काल लमजुङको विद्युत अनियमितताको समस्या समाधान गर्न आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा लमजुङमा उत्पादन भएको विद्युतको पहिलो हकदार लमजुङबासी नै हुने भएकाले पहिलो प्राथमिकता लमजुङबासीले पाउनुपर्ने माग गरिएको छ । ज्ञापन पत्रमा लमजुङ विद्युत उपभोक्ता संस्था हँुदा उपभोक्ताले पाएको हैरानी अहिले प्राधिकरणले लिँदा समेत उस्तै अवस्था भएको प्रति सजग गराइएको छ ।

ज्ञापन पत्रमा मध्यमस्र्याङदी जलविद्युत आयोजनाको आवास क्षेत्रमा २४सैं घण्टा विद्युत सेवा निरन्तर रहने तर जिल्लाका अन्य भागमा त्यसो हुन  गरेको स्मरण गराइएको छ । ज्ञापनपत्रमा भनिएको छ-

“लमजुङमा उत्पादित बिजुलीको सेवाको पहिलो हकदार पनि जिल्लाबासी नै भएको” प्रत्याभूति दिनका लाग लमजुङमा वितरण गरेपछिमात्र राष्ट्रिय प्रशारण लाईनमा यस जिल्लामा उत्पादित विद्युत जडान गर्ने प्रबन्ध हुन बाञ्छनीय देखिएको हुँदा सो अनुसारको प्रबन्ध गर्नका लागि ज्ञापनपत्रमार्फत मन्त्रीज्यूको ध्यानाकर्षण गर्दछौं ।”

प्रतिक्रिया