बेसीशहरमा महिलाहरुका लागि बृहत निशुल्क स्वास्थ्य जाँच, पाठेघरको मुखको जाँच र स्तन क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविरबाट झण्डै तीनसय जना महिलाले लाभ लिएका छन् ।
त्रिवेणी युवा क्लव र बेसीशहर नगरपालिका वडा नं. ९ को कार्यालयले आयोजना गरेको निःशुल्क शिविरमा १२ जना महिलाहरुमा क्यान्सरको शंका गरिएको छ । बेसीशहरको लमजुङ मोडेल अस्पतालमा शनिबार र बेसीशहर वडा नं. ९ को कार्यालय सन्यासी डाँडामा आइतबार शिविर सञ्चालन गरिएकोमा जिल्लाका विभिन्न भागबाट महिलाहरु परीक्षणका लागि पुगेका थिए ।

शिविरमा महिलाहरूको पाठेघरको मुख तथा स्तन क्यान्सरको परीक्षण गरिएको थियो । शिविरमा धुलिखेल अस्पताल ,गण्डकी अस्पताल, लमजुङ अस्प्ताल, लमजुङ मोडेल अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।
पहिलो दिन लमजुङ मोडल अस्पताल र दोस्रो दिन वडा न ९ को कार्यलयमा आयोजना गरिएको दुईदिने निःशुल्क परीक्षण शिविरमा २७० भन्दा बढी महिलाहरूको स्वस्थ्य परीक्षण गरिएको र १२ जनामा क्यान्सर पोजेटिभ भेटिएको वडा नं. ९ का वडा अध्यक्ष खुशीजंग गुरुङले जानकारी दिए । उनका अनुसार क्यान्सर पोजेटिभ देखिएका महिलाहरूलाई समयमै उपचार गर्न डाक्टरहरूले सल्लाह दिँदै उपयुक्त अस्पतालका लागि रिफर गरेका छन् ।

शिविरमा २२ देखि ७५ बर्ष उमेर समूहका महिलाहरु परीक्षणका लागि पुगेकामा ६० बर्षसम्मका महिलाहरुको मात्र परीक्षण गरिएको थियो ।
शिविरमा गण्डकी हस्पिटल पोखराका स्त्रीरोग बिशेषज्ञ डा. रुपा पनेरु, धुलिखेल अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा. क्षितिज चापागाईलगायतले परीक्षण गरेका थिए ।
शिविर बेसीशहर नगरपालिका, लमजुङ उद्योग बाणिज्य संघ, लायन्स क्लव आफ काठमाडौं, हाम्रो रुपान्तरण, रोटरी क्लव अफ लमजुङ, लायन्स क्लव अफ लमजुङ, लमजुङ दरबार, लमजुङ कालिका यातायात प्रा.लि.,बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, भूपू सैनिक आमावि र लमजुङ उद्योग बाणिज्य संघ बेसीशहर इकाइले सहयोग गरेका थिए ।
खबरकुञ्ज