बेसीशहर, चैत्र २ गते । मादक पदार्थकाे सेवनका कारण ब्यक्तिको स्वास्थ्यका साथै समाजमा पर्ने नकरात्मक प्रभाव न्यूनिकरण गर्न लमजुङको मध्यनेपाल नगरपालिका वडा नंं १ को वडा समितिले वडा भित्र रहेका सरकारी कार्यालय तथा संघसंस्थाको तीनसय मिटर वरिपरि निश्चित समय ताेकेर मादक पदार्थ विक्री वितरण र सेवनमा बन्देज लगाएको छ ।
वडा कार्यालयले यही चैत्र ५ गतेदेखि लागू हुने गरी चैत्रदेखि कार्तिक मसान्तसम्म बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म, र मंसिर १ देखि चैत्र ४ सम्म बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म कुनै पनि प्रकारका मादक पदार्थहरु बिक्री वितरण तथा सेवन गर्न नपाईने नियम बनाइको हाे । नियम अनुसार अनुमति प्राप्त गरेका ब्यापारीहरुले चैत ५ गतेदेखि कार्तिकसम्म बेलुकी ७ बजेदेखि ९ बजेसम्म र मंसिर १ देखि चैत्र ४ गतेसम्म बेलुकी ६ बजेदेखि ८ बजेसम्म मात्र मदिरा विक्री वितरण गर्न पाउने छन् ।
वडाअध्यक्ष थापाले वडा समितिले तोकेको समयलाई वेवास्ता गरी अटेर गरी मादक पदार्थको विक्री वितरण र सेवन गरेको भेटिएमा उत्पादित वा बिक्रीका लागि राखिएका मादक पदार्थका साथै मादक पदार्थ उत्पादनका सामग्रीहरु जफत गरिने चेतावनी दिएका छन् । वडाको नियमको बिरुद्ध कसैले मादक पदार्थको बिक्री वितरण वा सेवन गरेको भेटिएमा वडा कार्यालयबाट प्राप्त हुने सेवा सुविधाबाट समेत बञ्चित गरिने वडा अध्यक्ष सुदिप थापाले बताए ।

समाज र देशका लागि केही गर्नुपर्ने अवस्थाका युवाहरु मदिरा सेवन गरी राती राती र दिन दहडैसमेत होहल्ला गर्ने, गाउँ समाजमा आतङ्क फैलाउने गरेपछि यस्तो निर्णय गर्नुपरेको वडा अध्यक्ष थापाले बताए । उनले भने–“गाउँमा मदिरा सेवन गर्ने परिपाटीले वडाभित्र विकृति र विसंगति बढनुका साथै चोरी र असुरक्षासमेत बढेपछि यस्तो निर्णय गर्नुपरेको हो । गाउँमा युवा भन्दा बुढाबुढी र केटाकेटी बढी छन् । युवाहरूलाइ माैखिक सम्झाउँदा पनि अटेर गरेपछि मदिराको कारण समाजमा नगरात्मक प्रभाव पर्न नदिन वडा कार्यालयले मदिरा विक्री वितरणमा रोक लगाएको नभइ विक्री र सेवनका लागि निश्चित समय निर्धारण गरिएको हो ।”
वडा कार्यालयले यही चैत्र १ गते एक सार्वजनिक सूचना प्रकाशित गर्दै वडाको निर्णयबारे जानकारी गराएको हो । यस निर्णयको जानकारीका लागि जिल्ला प्रशासन कार्यालय, मध्यनेपाल नगरपालिकाको कार्यालय, ईलाका प्रहरी कार्यालय भोर्लेटार, सोतीपसल प्रहरी चौकी लगायतका सरकारी कार्यालय र विद्यालयहरुमा बोधार्थ दिएको छ । वडा कार्यालयले वडा भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा संघ संस्थाहरुलाई उपर्युक्त सूचना कार्यालयमा टाँस गरि नजिकका ब्यापारिक केन्द्रहरुमा पत्राचार गरिदिन समेत वडा अध्यक्ष थापाले अनुरोध गरेका छन् ।