बेसीशहर, चैत २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्ले ५ महिनाको तयारीमा रास्वपाले पाएको सफलताबाट तर्सेका ठूला राजनीतिक दलहरुले रास्वपालाई सिध्याउन पार्टी सभापति रवि लामिछानेलाई झुटा मुद्दामा फसाएको बताएका छन् ।
राईनास नगरपालिकाको तीनपिप्लेमा आज आयोजित राइनास नगर भेलामा प्रमुख अतिथिको रुपमा पुगेका डा वाग्लले रास्वपाको लोकप्रियता बढ्दै गएको र अहिले पाएको १२ लाख भोट २०८४ मा तीन गुणा बढेर ३६ लाख पुग्ने आँकलन गरेर नै कांग्रेस एमाले मिलेर रवि लामिछानेमाथि सहकारीको मुद्दा चलाएको ठोकुवा गरे ।
मुलुकमा ब्यप्त भ्रष्टाचार, कुशासनको अन्त्य गर्दै युवाहरुलाई स्वदेशमै रोजगारी दिएर मुलुकलाई समृद्ध बनाउने सपना देखेर राजनीतिमा आएका रवि लामिछाने छोटो अवधिको अभियानसंग तर्सेका ठालू दलहरुले त्यही अंकगणितकै आधारमा रविमाथि जाइलागेका उनले बताए ।

पार्टी सभापति रवि लामिछानेको आँट, सहास र उर्जाको प्रशंसा गर्दै डा वाग्लेले रास्वपाको अभियानले ५० बर्ष राजनीति गरेका र पुराना ठालु पार्टीका नेताहरुले मुद्दा हालेर रविलाई अल्झाउन सकियो भने मात्र आफ्नो भलो हुने देखेर विभिन्न जिल्लामा मुद्दा हालेर रास्वपा र रविको अभियानलाई रोक्न खोजेको उनले जिकिर गरे ।
नेपाली कांग्रेस, नेकपा एमाले परित्याग गरी ५० भन्दा बढी रास्वपामा प्रवेश गरेका नगर सभामा बोल्दै डा वाग्लेले भने– “कांग्रेस एमालेमा नयाँ युवा प्रवेश गरेको देख्नु भएको छ ? रास्वपामा हेर्नुस, हाम्रो सभापतिमाथि त्यति अन्याय हुँदा त यस्तो आकर्षण छ । रविमाथि राज्यले अन्याय गर्दैमा रास्वपा सकिँदैन, झन् बलियो हुन्छ । न्यायप्रेमी जनता रास्वपाको साथमा छन् । अब ठूला र ठालु पार्टीको रजाइँ सकियो ।”

रविसंग उनिहरु कति तर्सेका रहेछन् भन्ने कुरा अदालतको आदेश आउन नपाउँदै बेडरुममै पुगेर गिरफ्तार गरिनुले प्रष्ट पारेको भन्दै डा वाग्ले पछिल्लो पटक रविलाई पक्राउ गरिनु राजनीतिक प्रतिशोधको पराकाष्टा भएको बताए । सहकारी पीडितलाई न्याय दिलाउन रास्वपाले सरकारलाई सुझाव दिएको भन्दै उनले सहकारीको समस्या समाधनमा नलागी ब्यक्तिको पछि लाग्नुले सरकारको नियत प्रष्ट भएको उनको भनाइ रह्यो ।
रास्वपा लमजुङका सभापति अशोक सापकोटाको अध्यक्षतामा भएको नगर भेलामा रास्वपाका केन्द्रीय संगठन विभागका सदस्य तथा लमजुङ जिल्लाका संस्थापक संयोजक धर्म केसी, विदेश विभागका सचिव पदमराज पन्थी, जिल्ला उपसभापति प्रकास थापा लगायतका नेताहरुले रास्वपाको अभियानबारे प्रकास पार्दै राज्यले पार्टी सभापति रवि लामिछानेमाथि गरेको अन्यायबाट बिचलित नभइ देश र पार्टीको संगठन निर्माणमा जुट्न आह्वान गरेका थिए ।
खबरकुञ्ज