साहित्यकार श्रीकृष्ण न्यौपानेलाई दैवज्ञ साहित्य पुरस्कार अर्पण

खबरकुञ्ज

काठमाडौँ, मंसिर ३० गते । लमजङका प्रख्यात छन्दवादी कवि श्रीकृष्ण न्यौपानेलाई दैवज्ञ साहित्य पुरस्कार अर्पण गरिएको छ । 

काठमाडौंकोे नयाँ बानेश्वरमा रहेको बानेश्वर बहुमुखी क्याम्पसमा शनिबार एक समारोहबीच दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले न्यौपानेलाई सम्मानपत्र सहित सहित दैवज्ञ साहित्य पुरस्कार २०८१ अर्पण गरेको हो । पुरस्कारको राशी ३३ हजार ३३३ र सम्मानपत्र रहेको छ ।

कवि न्यौपानेले नेपाली साहित्यलाई पु¥याएको अतुलनीय योगदाको कदर गर्दै प्रतिष्ठानले उनलाई सम्मान सहित पुरस्कार अर्पण गरेको हो ।

पुरस्कार अर्पण कार्यक्रममा मन्तव्य राख्दै प्रतिष्ठानका सदस्य कोषराज न्यौपानेले श्रीकृष्ण न्यौपानेको कवितामा अद्भुत कवित्व पाइने र उहाँका कृतिहरू संख्यात्मक दृष्टिले मात्रै गुणात्मक दृष्टिले पनि महत्वपूर्ण र परिस्कृत रहेको बताए ।

पुरस्कार ग्रहण गरेपछि समारोहमा बोल्दै पुरस्कृत व्यक्तित्व कवि श्रीकृष्ण न्यौपानेले हृदयमा झङ्कार नदिने, मान्छेलाई जागृत नबनाउने, सिर्जनात्मक आनन्द छर्न नसक्ने सिर्जनाहरु साहित्य हुनै नसक्ने बताए । उनले छन्दको नाममा भाषा र भाषाको नाममा छन्द भाँचिएका, लय, विम्ब र अलङ्कारविहिन तथा भाव सिर्जनामा सफल नभएका लेखौटहरूलाई साहित्य मान्न नहुने बताए । 

पछिल्ला समयमा नेपाली साहितयमा त्यस्तै लेखौटहरू साहित्यिक सिर्जनाका रूपमा पेस हुनु दुर्भाग्यपूर्ण विषय बन्दै आएको भन्दै यसबाट नेपाली भाषा साहित्यलाई जोगाएर अगाडि बढाउनु अहिलेका आवश्यकता भएको चर्चा गरे ।

दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानका अध्यक्ष केदार न्यौपानेको अध्यक्षतामा भएको पुरस्कार अर्पण कार्यक्रममा वरिष्ठ कवि एवं सुप्रसिद्ध गीतकार कालीप्रसाद रिजाललाई दैवज्ञ विशिष्ट स्रष्टा सम्मान, कवयित्री एवं बालसाहित्य स्रष्टा प्रभा भट्टराईलाई दैवज्ञ बालसाहित्य पुरस्कार र परोपकार अभियान समूह, विराटनगर–३ लाई दैवज्ञ समाजसेवा पुरस्कार प्रदान गरिएको थियो ।


प्रतिक्रिया