सरोकारवालाई थाहै नदिई लुकीछिपी सार्वजनिक सुनुवाई गर्न लागेकोमा बेसीशहरमा विरोध

खबरकुञ्ज

बेसीशहर, माघ ९ गते । दिब्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रबद्धित मर्स्याङदीबेसी जलविद्युत आयोजनाले स्थानीय सरोकारवालाई थाहै नदिई लुकीछिपी सार्वजनिक सुनुवाई गर्न लागेकोमा बेसीशहरमा विरोध भएको छ ।

मस्र्याङदी बचाउ अभियानले अनियमित तरिकाले सार्वजनिक सुनुवाई गर्न लागेकोले उक्त सुनुवाई रोक्ने जिल्ला प्रशासन कार्यालय लमजुङमा निवेदन पेश गरेको छ । बेसीशहरको वडा नंं ६ को बलौति बिसौनामा बाँध बाँधेर वडा नंं १० कै सालडाँडामा विद्युत गृह रहने गरी दिब्यज्योति हाइड्रोपावरले ५० मेगावाट क्षमताको मर्स्याङदी बेसी जलविद्युत आयोजना निर्माण गर्न लागेपछि सिंगो बेसीशहरमा पर्ने धार्मिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय प्रभावका कारण स्थानीय आन्दोलित छन् ।

बेसीशहरका स्थानीयले मर्स्याङदी बचाउ अभियान सञ्चालन गर्दै आयोजनाका विरुद्ध संघर्ष समिति गठन गरी निरन्तर आन्दोलनका कार्यक्रम गर्न थालेपछि आयोजना हच्केको थियो । नेपाली कांग्रैस, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले समेत स्थानीयको आन्दोलनलाई साथ दिएका थिए । निरन्तरको आन्दोलन र राजनीतिक दलहरुको समेत सहयोग देखेपछि दिब्यज्योति हाइड्रोपावरले आयोजनाको डिजाइन परिवर्तन गर्दै मर्स्याङदी गाउँपालिकाको खुदी बगैंचामा बाँध बाँधी बेसीशहरको वडा नंं ६ चनौटे नजिकै विद्युतगृह रहने गरी आयोजना बनाउने तयारी थालेको छ ।

यसै सन्दर्भमा मस्र्याङदी गाउँपालिकाको वडा नं ८ सिमलचौरमा आयोजनाले आज सार्वजनिक सुनुवाई आयोजना गरेको थियो । योजना निर्माण गर्ने सन्दर्भमा सार्वजनिक सुनुवाई गर्दा प्रभाविता क्षेत्रका सरोकारवाला र स्थानीय सर्वसाधारणलाई समेत थाह दिनु पर्नेमा त्यसो नगरी आयोजनाले सुटुक्क सार्वजनिक सुनुवाई गर्न लागेको थाह पाापाएपछि  संघर्ष समितिले रोक्न प्रशासनमा निवेदन दिएको हो । संघर्ष समितिका तर्फबाट संयोजक रामबहादुर थापाद्वारा हस्ताक्षरित निवेदनमा उक्त सार्वजनिक सुनुवाइमा कानुनी, प्रक्रियागत र अन्तराष्ट्रिय दायित्वका हिसाबले समेत गम्भीर त्रुटि रहेको भन्दै संघर्ष समितिले जिल्ला दैवी प्रकोप तथा वातावरण संरक्षण सम्बन्धी अधिकार प्राप्त प्रमुखको कानुनी दायित्व पालना गर्नुपर्ने अख्तियार यस कार्यालयको रहेकाले निवेदन पेश गरिएको जनाइएको छ ।

निवेदनमा मर्स्याङदी बेसी आयोजनाको निर्माणले आइएलओ १६९ अभिसन्धि र जैविक बिबिधता सम्बन्धी अन्तराष्ट्रिय महासन्धिको बिपरित हुने  उल्लेख छ । साथै बेसीशहर नगरपालिका लगायत सार्वजनिक सरोकारका कार्यालयहरुमा सार्वजनिक सुनुवाईका सम्बन्धमा सूचना टाँस, स्थानीय पत्रपत्रिकामा सूचना जारी गरी प्रत्यक्ष सरोकारवाला र स्थानीयलाई जानकारी नगराइएको, मस्र्याङदी गाउँपालिकाका प्रमुख लगायत सिमित ब्यक्तिहरुलाई प्रभावमा लिई औपचारिकताको जलप लगाउन खोजिएको गम्भीर आशंका ब्यक्त गर्दै आज तोकिएको सनुवाई तत्काल रद्द गर्न, सबै प्रभावित स्थानीय र सरोकारवालाको पहुँच सुनिश्चित गरी पर्यप्त सूचना प्रबाह गरेर मात्र नयाँ मितिमा सुनुवाई गर्न र जिल्ला प्रशासन कार्यालयबाट प्रक्रियागत बैधता सुनश्चित गर्न निवेदनमा माग गरिएको छ ।

५० मेगावाट क्षमताको मर्स्याङदी बेसी जलविद्युत् आयोजनाले साविकको प्रस्तावित आयोजना क्षेत्र परिवर्तन गरी डिजाइन समेत परिवर्तन गरि नयाँ ठाउँमा आयोजना निर्माण गर्ने प्रस्ताव गरेकोमा लमजुङका सबै राजनीतिक दलले सहमति जनाएको बताइन्छ । जिल्ला प्रशासन कार्यालय लमजुङमा आयोजित सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूले परिवर्तित डिजाइन अनुसार आयोजना निर्माण हुन दिनुपर्ने बताएका थिए ।


प्रतिक्रिया