बेसीशहर, कार्तिक ५ गते । गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने लमजुङका अर्का प्रदेश सभा सदस्य पनि मन्त्री बनेका छन् । प्रदेश सभामा लमजुङ ख बाट प्रतिनिधित्व गर्ने भेषबहादुर पौडेल गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्री नियक्त भएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार उनलाई मन्त्री नियुक्त गरेका हुन् । प्रदेश सरकारमा नयाँ गठबन्धनपछिको सरकारमा बजेट नभएको मन्त्रालय लिन्न भनि राजीव गुरुङ (दीपक मनाङे)ले छोडेको वन तथा वातावरण मन्त्रालय पौडेलले पाएका हुन् ।

गत भदौ १७ गते नेकपा एमाले प्रदेश सरकारमा सामेल हुँदा मनाङेको भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी हेरफेर भई सो मन्त्रालय एमालेको भागमा परेको थियो । मुख्यमन्त्री पाण्डेले मनाङेलाई वन मन्त्रालयको जिम्मेवारी दिएकामा उनले बजेट नभएको वन मन्त्रालयको औचित्य छैन भन्दै राजीनामा दिए पछि वन मन्त्रालयको जिम्मा मुख्यमन्त्रीले आफैसंग राखेका थिए ।
मनाङेले राजीनामा दिएको दुई महिना पुग्नै लाग्दा भेषबहादुर पौडेलले यो मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।नविनयुक्त मन्त्री पौडेलले साेमबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई शपथ खुवाएका थिए । पाैडेल मन्त्रीबनेसंगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ ।
खगराज अधिकारी नेतृत्वको प्रदेश सरकार ढलेसंगै मन्त्री बन्ने पक्कापक्की भएका भनिएका भेषबहादुरको पक्षमा आफ्नै नेताहरु दाहिना नहुँदा उनी मन्त्री हुनबाट रोकिएका थिए । प्रदेश सभा निर्वाचनमा उनीसंगै लमजुङ क बाट निर्वाचित भएका डा टकराज गुरुङ आर्थिक मामिला मन्त्री नियुक्त हुँदा भेषबहादुर भने उपेक्षित थिए । शेखर–गगन पक्षका भएकाले पौडेल पार्टी सभापति शेरबहादुर देउवा र मुख्यमन्त्री पाण्डेको रोजाइमा पर्न सकेका थिएनन् । त्यतिबेला विचार समूहमा रहेका कारण मन्त्री बन्नबाट रोकिएका उनी यस पटक भने शेखर गगन समूहकै दबाबमा मन्त्री बन्न सफल भएका हुन् ।
आफूभन्दा कानिष्ठ ब्यक्ति प्रदेशको आर्थिक मामिला मन्त्री बनिसक्दा मन्त्री बन्न नसकेको भन्दै कार्यकर्ताबाटै निरीह नेताको उपाधि पाएका पौडेल यसपटक मन्त्री भए पछि कार्यकर्ताहरु पनि उत्साहित भएका छन् । लमजुङ कांग्रेसको १३ औं जिल्ला अधिवेशनमा उनै पौडेलले डा टकराजलाई पराजित गरी पार्टी सभापति बनेका थिए । १४ औं अधिवेशनमा भने डा टकराजले शेखर–गगन समूहका गमप्रसाद गुरुङलाई पराजित गर्दै सभापति जितेका हुन् ।
लमजुङको वेशीशहर नगरपालिका वडा नम्बर २ का बासीन्दा भेषबहादुर पौडेलले नेपाल तरुण दलबाट औपचारिक रुपमा राजनीति थालेका हुन् । २०५६ मा नेपाली कांग्रेस बिभाजित भएपछि तत्कालीन तरुण दलका अध्यक्ष नेपाली कांग्रेस प्रजातान्त्रिकमा लागेपछि उनले तरुण दलको जिल्ला अध्यक्षको जिम्मेवारी पाएका थिए । २०६८ मा लमजुङ उद्योग बाणिज्य संघको अध्यक्ष समेत बनेका पौडेल त्यसपछि मस्र्याङदी बहुमुखी क्याम्पसको अध्यक्ष भए । नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चुनिएका उनी हाल पनि पार्टीको महासमिति सदस्य छन् ।
खबरकुञ्ज